'शान्तिवार्ता जारीरहंदा सिरियामा भिडन्त चर्कंदो'

  • 13 फेब्रुअरी 2014
होम्स तस्वीर कपीराइट AFP
Image caption अन्तर्राष्ट्रिय सहायतकर्मीहरुले होम्समा अलपत्र परेकाहरुका निम्ति खानेकुरा पठाएका छन्

सिरियाका अभियानकर्ताहरुले देशका विभिन्न भागमा लडाईंका घटनामा तीब्र बृद्धि भएको बताएका छन्। सिरियन अब्जरभेट्री फर ह्युमन राइट्स ले भनेको छ, सम्भवत: शान्तिवार्तामा आफ्नो स्थान बलियो तुल्याउन, सरकारी र विद्रोही सैन्यले देशको बढी भन्दा बढी क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। विगत तीन हप्ता देखि त्यहां हरेक दिन दुईसय जना भन्दा बढी मानिसहरुको ज्यान गैरहेको उक्त संस्थाको दावी छ।

लेबननसंगको सिमावर्ती क्षेत्रमा सबैभन्दा चर्को भिडन्त भैरहेको बताइएको छ।

प्रयास त्यस क्षेत्रमा सिरियाली सरकारी सेना र तिनीहरुको हेजबोल्लाह सहयोगीहरुले रणनीतिक दृष्टिले महत्वपूर्ण याब्रोउड नगरलाई कब्जामा लिने प्रयास गरिरहेका छन्। सरकारी सैनिक विमानहरुले त्यस क्षेत्रमा धेरै पटक बम हमलाहरु गरेका छन्। यसैबीच, महिनौ देखि सरकारी सेनाको घेराबन्दीमा रहेको होम्स शहरबाट अलपत्र परेका गैरसैनिकहरुलाई उद्धार गर्ने र त्यहां मानवीय सहायता पुर्याउने राष्ट्रसंघीय संयोजनको कार्य जारी रहेको छ। गत शुक्रबार अस्थायी युद्धविरामको सहमति भएयता त्यहांबाट सयौं गैरसैनिकहरु बाहिरीएका छन्। तर त्यसरी बाहिर आउंदा सिरियाली सरकारी अधिकारीहरुले नियन्त्रणमा लिएका पुरुषहरुको अवस्थाप्रति व्यक्त चिन्ता कायमै छ।

बीबीसीको प्रमुख अन्तर्राष्ट्रिय सम्बाददाता लिस डुसेट भन्छिन् केही सरकार समर्थक शक्तिहरु होम्समा सरकारले गर्न दिएको मानवीय सहायताको कडा रुपमा आलोचना गर्दैछन्। झण्डै दुई बर्ष देखि कडा संघर्षको केन्द्र बनेको होम्सबाट मानवीय सहायताको नाउंमा विपक्षी लडाकुहरुले उम्कने अवसर पाएको उनीहरुको दावी छ। विपक्षीहरु भने त्यहां अलपत्र परेका युवाहरुलाई सरकारले सोधपुछको नाउंमा नियन्त्रणमा लिएकोमा आक्रोशीत छन्।

तस्वीर कपीराइट AFP
Image caption होम्सबाट निस्केका पुरुषहरुलाई नियन्त्रणमा लिइएकोमा विपक्षीहरुले आक्रोश पोखेका छन्

हिरासत त्यसरी नियन्त्रणमा लिइएका मध्ये सयजना जतिलाई रिहा पनि गरिएको छ तर अझै दुईसयजना जति हिरासतमा नै छन्।

उता, स्वीट्जरल्याण्डको जिनीभामा युद्धका दुवै पक्षबीच शान्तिवार्ता जारी नै रहेपनि त्यसमा कुनै उल्लेख्य उपलब्धि हासिल हुन सकेको छैन।

विहीबार रुसी र अमेरिकी अधिकारीहरुले जीनीभामा भैहरहेको शान्तिवार्तामा सहभागीता जनाउने भएका छन्।

संयुक्त राष्ट्र संघमा पनि, सिरियामा मानवीय सहायता वितरणको व्यवस्थामा सुधार गर्नका लागि प्रस्तुत प्रस्तावलाई रुस र चीनले अस्वीकार गरेपछि त्यहां पनि सहमति जुटिरहेको छैन।