केसीको मागबारे कोइरालाले वार्ता गर्ने

  • 13 फेब्रुअरी 2014
Image caption डाक्टर केसीको मागबारे सम्बोधन भइरहँदा उनले भने सरकारले उल्लेख्य प्रतिवद्धता नदेखाएको भन्दै अनसन तोडेका छन्

विवादित भनिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारी वर्खास्त हुनुपर्ने भन्दै अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री सुशिल कोइरालाले शुक्रबार त्रिविका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।

कोइरालाले केसीको मागलाई प्राथमिकता दिँदै त्यसबारे निकास निकाल्न मुख्यसचिवसहित सरकारको टोली र शिक्षण अस्पतालका डाक्टरहरुलाई छलफल गर्न बिहीबार विहान निर्देशन दिएका थिए।

निर्देशन

उक्त निर्देशन अनुसार चौथोपटक अनसन बसेका डाक्टर केसीको माग सम्बोधन गर्न सरकार र शिक्षण अस्पतालका वरिष्ठ डाक्टरहरुको प्रतिनिधिबीच दिउँसो करिब ५ घन्टा छलफल भएको थियो।

छलफलपछि पदाधिकारीको वर्खास्तबारे छलफल गर्न कोइरालाले दुबै पक्षलाई सिंहदरबारमा बैठकका लागि बोलाएको मुख्यसचिव लिलामणि पौडेलले बताए।

उनले भने, “शुक्रबार प्रधानमन्त्री सुशिल कोइरालाले त्रिवि र शिक्षण अस्पतालका पदाधिकारीहरुलाई भेट्दै हुनुहुन्छ।”

अस्पतालमा त्रिवि पदाधिकारीले राजनीतिक र प्रशासनिक हस्तक्षेप गरेको भन्दै उनीहरुको राजीनमासहितका माग राखेर डाक्टर केसी अनसनमा बसेको छैठौं दिन भयो।

केसीका अन्य माग मध्य शिक्षण अस्पतालालाई स्वायत्त बनाउने विषयमा प्रकृया अघि बढाउने निर्णय गरेको पौडेलले बताए ।

स्पष्टीकरण

त्यसबाहेक छलफलमा भएका सबै विषय भन्न नमिल्ने सरकारी अधिकारीले बताए पनि वार्तामा संलग्न शिक्षण अस्पतालको टोलीले भने उक्त छलफलमा त्रिवि पदाधिकारीलाई कारबाहीको प्रकृया अघि बढाउने सहमति भएको बताएका छन्।

छलफलबारे बोल्दै वार्तामा सहभागी शिक्षण अस्पताल प्राध्यापक संघका अध्यक्ष दिनेश विनोद पोखरेलले बताए।

उनले भने, “त्रिवि पदाधिकारीलाई बर्खास्त गर्न कानुनी रुपमा नमिल्ने भन्दै उनीहरुलाई यसअघि सरकारले दिएको निर्देश पालना नगरेको सम्बन्धमा स्पष्टीकरण सोधेर कारबाहीको प्रकृया अघि बढाउने निर्णय भएको छ।”

बुधबार नियुक्त भएका डिन डाक्टर राकेशप्रसाद श्रीवास्तवले डाक्टर केसीको माग पूरा भएर अनसन नतोडेसम्म पदमा बहाल नहुने बताएका छन्।