खानेपानी महसुल दोब्बरभन्दा बढीले वृद्धि

  • 13 फेब्रुअरी 2014
water
Image caption नियमित पानी वितरण नहुंदा सर्वसाधारणको आक्रोश सरकारी शासनसंयन्त्रतिर सोझिने गरेको छ

खानेपानी महसुल निर्धारण आयोगले बिहीबारदेखि लागू हुने गरी देशका २० वटा शहरमा खानेपानीको महसुल दोब्बरभन्दा बढीले वृद्धि गरेको छ।

खानेपानी वितरण नियमित नभएका गुनासाहरुमाझ भएको उक्त वृद्धिले सहज आपूर्तिका त्यस्ता समस्या सम्बोधन गर्न सघाउ पुर्याउने सरकारी अधिकारीले दावी गरेका छन्।

औचित्य

खानेपानी वितरणको छाता निकाय नेपाल खानेपानी संस्थानले गत वर्ष र यसपटक गरी दुईचोटि मूल्य समायोजनका लागि दिएको प्रस्तावका आधारमा उक्त आयोगले नयां महसुल निर्धारण गरेको हो।

प्रति महिना १० हजार लिटरको न्यूनतम ५० रुपैयां तिर्दै आएका उपभोक्ताले अब १ सय १० रुपैयां तिर्नुपर्नेछ।

मिटर नभएका उपभोक्ताले भने न्यूनतम ५ सय ६० रुपैयां तिर्नुपर्नेछ।

विगतमा यसरी महसुल बढेपनि वितरण सहज नभएको भन्ने उपभोक्ताहरुका नियमित गुनासामाझ संस्थानले यसपटक बजारमा भएको मूल्यवृद्धिलाई देखाएर महसुल वृद्धिको औचित्य पुष्टि गर्न खोजेको छ।

संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल भन्छन्, " नौ वर्षयता बढाउन सकिएको थिएन। मूल्यवृद्धि कर्मचारीको तलब भत्ता वृद्धि जस्ता कारणले उठेको महसुल नियमित मर्मत सम्भारका लागि पनि पुग्ने थिएन।"

चुनौती

उनले महसुल वृद्धि गरिएपछि खानेपानी वितरण प्रणालीको गुणस्तरमा सुधार ल्याउने दावी समेत गरे।

उनले भने, “वृद्धि गरिएको रकमबाट प्राप्त हुने कर चुहावट नियन्त्रण, वितरणलाई सहज बनाउने जस्ता काममा प्रयोग गर्छौ।“

तर जानकारहरु भन्छन्, यसरी खानेपानी वितरणलाई नियमित बनाउने चुनौती त छंदैछ, वर्षोदेखि उठ्न नसकेका महसुलहरु असुल गर्नुपर्ने अप्ठ्यारो पनि संस्थानसमक्ष छ।