'सिरियामा अन्तर्राष्ट्रिय कानून उल्लंघन'

  • 14 फेब्रुअरी 2014
syria तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रसंघीय विशेष दूत लख्दर ब्राहिमीले सिरियाली पक्षहरुबीच सहमति गराउने प्रयास गरेका छन्

मानवीय सहायतासम्बन्धी राष्ट्रसंघीय प्रमुखले द्वन्द्वरत सिरियाली पक्षहरुले लगातार अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको भन्दै त्यो अस्वीकार्य हुने बताएकी छन्।

राष्ट्रसंघीय सुरक्षा परिषदमा बोल्दै प्रमुख भ्यालेरी एमोसले युद्ध प्रभावित क्षेत्रमा बढी पहुंचका लागि प्रस्ताव पारित गर्न पनि आह्वान गरेकी छन्।

आलोचना

एमोसले सिरियाली पक्षहरुको कडा आलोचना गर्दै उनीहरु सर्वसाधारणको जीउधन रक्षा गर्ने दायित्वबाट विमुख भएको बताइन्।

सिरियाली सामाजिक संरचना तहस नहस भएको भन्दै उनले चिन्ता समेत प्रकट गरिन्।

यसैमेसोमा घेराबन्दीमा परेको होम्स शहरमा विद्रोही नियन्त्रित क्षेत्रहरुबाट सर्वसाधारणको उद्धारका लागि युद्धविराम थप तीन दिनका लागि लम्ब्याइएको छ।

तर त्यस्ता खाले अल्पकालीन व्यवस्थाहरुले समस्याको दीगो समाधान नहुने एमोसको भनाइ थियो।

प्रयास

राष्ट्रसंघीय विशेष दूत लख्दर ब्राहिमीले सिरियाली पक्षहरुसंग जिनिभामा जारी शान्ति वार्तामा सहमति खोज्ने प्रयास गरिरहेका छन्।

सिरियाली सरकार र विपक्षी प्रतिनिधिहरुबीच तीन दिनयता त्यहां जारी वार्ताले केही प्रगति गरेको बताइएको छ।

वार्तालाई थप फलदायी बनाउने प्रयासमा अमेरिका र रुसका उपविदेशमन्त्रीहरु पनि जिनिभा पुगेका छन्।

उनीहरुले समस्याको समाधान खोज्न सक्दो सहयोग गर्ने वचन समेत दिएको ब्राहिमीले बताएका छन्।

उनले भने, “यो एकदमै जटील विषय हो। असफलता सधै हाम्रो सम्मुख छ। तर पनि यदि केही प्रगति गर्न सकिने सम्भावना छ भने राष्ट्रसंघले त्यसका लागि केही कसर छाड्ने छैन।“