‘असद सरकारका कारण जिनेभा वार्ता विफल’

  • 16 फेब्रुअरी 2014
जिनेभा वार्ता तस्वीर कपीराइट c
Image caption सिरियाका विपक्षी वार्ताकारले अर्को चरणको वार्ता निरर्थक हुने र त्यस्ले समय मात्र बर्बाद गर्ने बताएका छन्

सिरियाबारे जिनेभामा भएको वार्ता अबरुद्ध भएपछि ब्रिटिश परराष्ट्रमन्त्री विलियम हेगले वार्ता विफल हुनुको मुख्य कारण राष्ट्रपति बसर अल-असद सरकार भएको बताए।

उनका फ्रान्सेली समकक्षीले असदका प्रतिनिधिहरुले संक्रमणकालीन सरकार गर्ने प्रस्ताव अवरुद्ध पारेका कारण वार्तामा कुनै प्रगति हुन नसकेको बताए।

अर्को चरणको वार्ता कहिले हुने हो त्यो अझै अनिश्चित छ।

दोस्रो चरणको वार्ता छैठौं दिन सम्म लम्बिएको थियो तर अन्तिम वार्ता २७ मिनेटपछि अचानक अवरुद्ध हुन पुगेको थियो।

संक्रमणकालीन सरकार गठन र राष्ट्रिय मेलमिलाप जस्ता मुद्दामा असद सरकारका प्रतिनिधिहरु लचक नभएका कारण वार्ता विफल भएको बताइएको छ।

क्षमायाचना

वार्ता विफल भएपछि राष्ट्रसंघका मध्यस्तकर्ता लखदर ब्रहीमीले सिरियाका जनतासमक्ष माफि मागेका छन्।

“म क्षमाप्रार्थी छु, यो वार्ताबाट केही प्रगति होला, केही थोरै भएपनि प्रगति होला र आफ्नो देशमा जारी डरलाग्दो संकट समाधान होला भन्ने सिरियाली जनताको आशा थियो।”

“तर यी दुई चरणका वार्ताबाट हामीले सिरियालीहरुलाई धेरै मद्दत गर्न सकेनौं।”

लखदर ब्रहीमीले एजेन्डा तयार भएपनि अर्को वार्ताको मिति तय हुन नसकेको बताए।

सिरियाली सरकारका प्रमुख वार्ताकार बसर अल-जाफीरीले वार्तापछि संवाददाताहरुसंग कुरा गर्दै वार्ता कुनै निश्कर्षमा पुग्नु अघि आतंकवाद नियन्त्रण हुनु पर्नेमा जोड दिए।

गत महिना सिरियाको संकट समाधान गर्ने विषयमा पहिलो चरणको वार्ता भएयता करिव ६ हजार सिरियालीको ज्यान गइसकेको छ।

“वार्तामा एजेन्डा तय भइसकेपछि त्यस्को व्याख्या वा अपव्याख्यामा अल्झिनु भन्दा सबैले त्यस्को सम्मान गर्नु पर्छ।

सिरियाका विपक्षी वार्ताकारले अर्को चरणको वार्ता निरर्थक हुने र त्यस्ले समय मात्र बर्बाद गर्ने बताए।