'नाइजेरियामा १०० भन्दा बढीको हत्या'

  • 17 फेब्रुअरी 2014
तस्वीर कपीराइट AFP
Image caption आक्रमणको एक हप्ता अघी सरकारी सेना सो क्षेत्रबाट फिर्ता भएको थियो

नाइजेरियाका एक जना सिनेटरले बीबीसीलाई भनेका छन् संदिग्ध इस्लामवादी उग्रवादीहरुले उत्तरपूर्वी शहर इग्जेमा एक सय भन्दा बढी मानिस मारिदिएका छन्।

स्थानीयवासीन्दाहरुले बन्दुकधारीहरुले घरघरमा प्रवेश गरी गोली हानेर वा घाँटी रेटेर मानिसहरुको हत्या गर्नुअघि करीव ३० जनालाई एकै ठाउँमा जम्मा गरेर मारिदिएको बताएका छन्।

आक्रमणका लागी उत्तरी नाइजेरियामा इस्लामी राज्य हुनुपर्ने माग गरिरहेको बोको हराम समुहलाई आरोप लगाइएको छ।

आक्रमण

आक्रमण भएको बोर्नो राज्यका सिनेटर मोहमद अली एनडुमेले शनिबार राती करिव ९ बजे आएका उग्रवादीहरुले सूरुमा युवाहरुलाई एक ठाउँमा जम्मा गरेको र त्यसपछि घर घरमा छिरेर परिवारका पुरुष सदस्यहरुको हत्या गरेको बताए।

ज्यान गुमाउनेमा आफ्नो नातीलाई बचाउने प्रयास गरीरहेकी एक जना वृद्ध महिला पनि रहेको उनको भनाई छ।

करीव एकसय जनाजति उग्रवादीले निरन्तर ५ घन्टा आक्रमण गर्दा सरकारी सेनाको तर्फबाट कुनै जवाफी कार्वाही नभएको उनले बताए।

उनले भने,‍ “जनताको एक जना प्रतिनिधिको हिसाबले म कसैलाई कुनै आरोप लगाउन चाहान्न। मैले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रको १ सय ६ जना नागरीकको हत्या गरिएको छ र उनीहरुलाई उग्रवादीले मारेका हुन्, पर्याप्त रुपमा सुरक्षा नदिइंदा यस्तो भएको हो।”

अघिल्लो हप्ता एम्बुस आक्रमणमा परेर ९ जनाको ज्यान गएपछि सो क्षेत्रबाट सेना फिर्ता भएको पनि ती सिनेटरले बताए।

राष्ट्रपति जोनाथन गुडलकले अघिल्लो महिना गरेको सैनिक नेतृत्व हेरफेरपछिको यो सबैभन्दा ठूलो उग्रवादी हमला हो।

इस्लामी राज्यको माग गर्दै सन् २००९ देखी अन्धाधुन्ध हिंसा मच्चाउंदै आएको उग्रवादी समुह बोको हरामले सो आक्रमण गरेको आशंका अधिकारीहरुले गरेका छन्।