सभामुखको चयन मतदानबाट हुने

  • 17 फेब्रुअरी 2014
संविधानसभा भवन तस्वीर कपीराइट Surendra Phuyal
Image caption प्रधानमन्त्री छानेपछि सभामुख चयन गर्न लाग्दासम्म पनि संविधानसभा अपुरै छ

तेश्रो ठूलो दल एकीकृत नेकपा माओवादीले पनि दावी गरेपछि संविधानसभाका अध्यक्ष तथा सभामुखको चयन मतदानबाट हुने भएको छ।

तर एकीकृत माओवादीले उम्मेदवारी दिनेबारे निर्णय गरिसकेको छैन।

नेपाली कांग्रेस लगायतका दलहरुले समर्थन गर्ने घोषणा गरेकाले नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्षमा फेरि निर्वाचित हुने निश्चित जस्तै छ।

अग्रसर

पहिलो दल कांग्रेसले सरकारको नेतृत्व सम्हालेपछि दोश्रो दल एमालेले संविधानसभाको नेतृत्व गर्न अग्रसर भएको हो।

कार्यपालिका प्रमुखको चयनमा कांग्रेसलाई जस्तै व्यवस्थापिका प्रमुखको चयन सहमतिबाट गर्ने खोजेको एमालेलाई पनि विफलता नै हात लागेको छ।

आफ्नो दलले डाकेको सर्वदलीय बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले भने, “केही दलहरुले छलफल गरेपछि जवाफ दिने भन्नु भएको छ, अहिलेसम्मको छलफल अनुसार सुवास नेम्वाङ्को पक्षमा ४२१ मत पर्ने देखिएको छ।”

प्रधानमन्त्री चयनका बेला दुई प्रमुख दलबीच भएको सात बुँदे सहमतिमै सभामुखमा कांग्रेसले एमालेलाई सघाउने उल्लेख थियो।

प्रतिबद्धता

मन्त्रालय बाँडफाँडलाई लिएर दुई दलबीचको समीकरण धरमराए पनि उक्त सहमतिप्रति प्रतिबद्ध रहेको कांग्रेसले जनाएको छ।

उक्त पार्टीका सह-महामन्त्री पूर्णबहादुर खडकाले भने, “उक्त सहमतिमा टेकेर हाम्रो पार्टीले मंगलबार हुने संविधानसभा अध्यक्षको चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट हाल्ने निर्णय गरेको छ।”

दुई मुख्य दलको लिखित सहमतिपछि बिच्किएको एकीकृत माओवादीले आफ्नै दावी पेश गरेपछि सभामुखमा सहमतिको सम्भावना टरेको हो।

कांग्रेस-एमाले उसलाई उपसभामुख दिने पक्षमा रहेको बताइन्छ।

तर प्रचण्डले भने, “पहिलो संविधानसभामा तेश्रो पार्टीले सभामुख पाएको हुनाले अहिले पनि त्यसमै सहमति गरौ भन्ने हाम्रो कोसिस छ, भएन भने के गर्ने भन्नेबारे निर्णय गरिसकेका छैनौं।”

बल मिच्याई

संविधानसभाको बैठक महिना दिन अघि शुरु भएको थियो।

तर उसले सभामुखभन्दा अघि प्रधानमन्त्री छान्यो।

अघिल्लो सरकारले २६ जना मनोनित नगर्दा संविधानसभा अपुरै छ।

प्रधानमन्त्री जस्तै मनोनित हुने २६ जनाको मत विना नै सभामुख छानिने छन्।

हाम्रा काठमाण्डूस्थित संवाददाता भन्छन्, आफ्ना स्वार्थमा ठेस नपुग्दासम्म प्रमुख दलहरुको बल मिच्याईमा विधि र पद्धतिका यस्ता विषयहरु उनीहरुका निम्ति ‘झिना-मसिना’ बन्ने गरेका छन्।