'शुक्रबारसम्म सरकार विस्तार हुने'

  • 19 फेब्रुअरी 2014
Image caption दुई दलबीच गृहमन्त्रालयको विवाद नमिल्दा सरकार विस्तार हुनसकेको छैन

प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबारसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहेको उनी निकट नेताहरुले बताएका छन्।

यसअघि कांग्रेसका नेताहरुले बुधबार साँझसम्म एमालेसँग सहमति गरी बिहीबार मन्त्रिपरिषद विस्तार गरिने बताएका थिए।

तर त्यो नहुने देखिएको छ।

दुई दलका नेताहरुको शीर्ष तहमा गर्ने भनिएको छलफल नभएपछि मन्त्रिपरिषद विस्तार पनि पछि धकेलिएको छ।

विवाद

कांग्रेस नेता दिपकुमार उपाध्यायले दुई दलका दोस्रो तहका नेताहरुबीच सहमति हुन नसकेकाले शीर्ष नेताहरुको बैठक बस्न नसकेको बताए।

उनले भने, "कुनै न कुनै निकास निकाल्नुपर्छ, बिहीबार नभए पनि शुक्रबारसम्म त मन्त्रिपरिषद विस्तार हुनै पर्छ।"

एमालेका सचिव शंकर पोख्रेलले भने बिहीबार बस्ने स्थायी समिति बैठकले पार्टीको अहिलेसम्म अडान विपरित कुनै निर्णय नलिने बताए।

सहमति विना प्रधानमन्त्रीले एमालेको भाग छुट्टयाएर मन्त्रिपरिषद विस्तार गरे पनि त्यो अर्थहीन हुने उनको टिप्पणी थियो।

अडान

उनले भने, "पुरानो सहमति कार्यान्वयन गर्ने पक्षमा उहाँहरु नआए त सरकारमा जाने कुरा हुँदैन, उहाँहरुले छुट्याइदिएको भाग लिने हो भने त अर्थै भएन नि।"

संविधानसभाको पहिलो र दोस्रो ठूलो दलबीच जारी गृह मन्त्रलायसम्बन्धी विवादका कारण प्रधानमन्त्रीले कार्यभार सम्हालेको एक साताभन्दा बढी समय बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।

एमालेले गृह मन्त्रालय दिने सहमतिबाट कांग्रेस पछि हटेको बताउँदै आए पनि कांग्रेसले त्यस्तो कुनै सहमति नभएको दोहोर्याउँदै आएको छ।

कांग्रेसभित्रै पनि मन्त्री बन्ने र बनाउने होड देखिएकाले मन्त्रिपरिषद विस्तार जटिल बनेको देखिन्छ।