विषयगत समितिको संख्या ‘घट्ने’

  • 20 फेब्रुअरी 2014
ca तस्वीर कपीराइट bbc
Image caption संविधानसभा अध्यक्षले पनि संविधान निर्माणलाई छरितो बनाउने कार्यतालिकाको गृहकार्य थालेका छन्

संविधान निर्माण प्रक्रियालाई छरितो बनाउन संविधानसभाका विषयगत समितिहरुको संख्या घटाउने तयारीलाई तीव्रता दिइएको छ।

त्यसको जिम्मा पाएको संविधानसभा नियमावली मस्यौदा समितिले यसपटक करिब आधा दर्जनमात्रै विषयगत समितिहरु गठन गर्ने तयारी गरेको उक्त समितिका एक जना सदस्यले बताए।

साथै यसपटक विषयगत समितिमा भन्दा संविधानसभाको पूर्ण बैठकमै प्रस्तावित संविधानका विषयहरुमाथि छलफल गर्ने गरी नियमावली तयार पार्न लागिएको बताइएको छ।

छिटो

पहिलो संविधानसभामा १० वटा विषयगत समितिहरु थिए।

संविधान निर्माणको प्रक्रियालाई छरितो बनाउन तथा पहिलो संविधानसभामा सहमति भइसकेका विषयमाथि छलफल नदोहोर्याउन अब त्यो संख्यालाई घटाउने तयारी भएको बताइएको छ।

त्यसको जिम्मा पाएको संविधानसभा नियमावली मस्यौदा समितिका एक जना सदस्य एवम् नेपाली कांग्रेसका एकजना नेता नरहरि आचार्यले भने, ‘संविधानसभामा ४ वा ५ वटा भन्दा बढी समितिहरु चांहिदैन भन्ने निष्कर्ष हो’।

तथापि व्यवस्थापिका संसदतिर भने समितिहरुको संख्या बढाउने तयारी भएको आचार्यले बताए।

व्यवस्थापिका संसदको समेत भूमिका खेल्ने संविधानसभाको पहिलो संस्करणमा ७ वटामात्रै संसदीय समिति थिए।

पूर्ण बैठक

समितिहरुको घेरामा मात्रै छलफललाई सीमित गरी संविधानसभाको पूर्ण बैठकमा बहस नगराउने विगतको परिपाटीलाई सच्याउने गरी नियमावली तयार पार्ने गृहकार्यमा पनि मस्यौदा समिति लागेको छ।

आचार्यले भने, “ संविधानसभाको पूर्ण बैठकलाई सक्रिया बनाइ त्यहांभित्र छलफल गराउन जोड दिनुपर्छ भन्ने निचोडमा हामी पुगेका छौं”।

संविधान निर्माण र राजनीतिक मुद्दाहरु संविधानसभाको प्रक्रियाभन्दा पनि कोठे बैठकहरुबाट निर्देशित भएको भन्दै हुने गरेका आलोचनालाई पछिल्लो तयारीले केही हदसम्म भएपनि मत्थर पार्ने ठानिएको छ।