गृह नपाए सरकारमा नजाने एमाले अडान यथावत

  • 20 फेब्रुअरी 2014
तस्वीर कपीराइट .
Image caption एमाले स्थायी समिति बैठकले गृह मन्त्रालयको माग दोहो-याएको छ

नेकपा एमाले स्थायी कमिटिको बिहीबारको बैठकले सातबुँदे सँगसँगै भएको मौखिक सहमति पालना गर्न नेपाली कांग्रेसलाई पुन: आग्रह गरेको छ।

सहमति कार्यान्वयन नगरे सरकारमा सहभागी नहुने एमालेले दोहो-याएको छ।

बैठकमा सहभागी एमाले सचिव युवराज ज्ञवालीले भने, "कांग्रेसले पूर्व सहमति अनुरुप हामीलाई गृह र उपप्रधानमन्त्री सहित सम्मानजनक स्थान दिँदैन भने हामी सरकारमा जाँदैनौ‌।"

ज्ञवालीले एमाले स्थायी कमिटिको बामदेव गौतमको नेतृत्वमा सरकारमा जाने पूर्व निर्णय यथावत रहेको र त्यो परिवर्तन नहुने पनि बताए।

विवाद

संयुक्त सरकार बनाउन करीब दुई साता अघि सातबुँदे लिखित सहमति गरेका नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको भनिएको अलिखित सहमतिको विवाद जारी रहँदा बिहीबार पनि सरकार विस्तार हुन सकेन।

दोश्रो ठूलो दल एमालेको स्थायी कमिटिले गृहमन्त्रालयको अडान दोहोराएपछि कांग्रेस अब एक्लै भएपनि सरकार विस्तार गर्ने मनस्थितिमा पुगेको छ।

कांग्रेस नेता दीपकुमार उपाध्यायले भने, "एमाले आउँदाखेरी उसलाई सम्मानजनक ठाउँ दिने गरी अहिलेलाई हामी सरकार विस्तार गर्छौं।"

खिंचातानी

कांग्रेसलाई सरकार प्रमुख र एमालेलाई सभाध्यक्ष बनाउनेमा दुई दलले गरेको लिखित सहमति सौहार्द्रपूर्ण रुपमा सम्पन्न गरेका दुई दलले सरकार विस्तारमा गरेको खिंचातानीलाई कतिले ती दुई दलको आन्तरिक समीकरणसँग जोड्ने गरेका छन्।

कांग्रेसभित्रकै शक्ति संघर्षका कारण पनि सरकार विस्तारमा ढिलाइ भएको भन्ने अस्वीकार गर्दै उपाध्यायले भने, "आज एमालेले के निर्णय गर्ला भन्ने कुरेका हौँ, भोली विहान हाम्रो संसदीय दलको बैठक छ भोली बेलुकासम्म सरकार विस्तार गर्ने योजनामा छौ‌।"

काठमाडौ‌स्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, शक्ति बाँडफाँडलाई लिएर सन्चार माध्यमहरु मार्फत दुई दलबीच तीव्र विवाद उत्पन्न भएको देखिएपनि दुबै दलका शीर्ष नेताहरु औपचारिक वार्तामा नबस्नुलाई अर्थपूर्ण ठानिएको छ।