उपाध्यक्ष एमाओवादीलाई दिन ठूला दल 'तयार'

  • 21 फेब्रुअरी 2014
संविधान सभा एव‌ं संसद
Image caption अघिल्लो संविधानसभामा एकीकृत माओवादीको तर्फबाट पूर्णाकुमारी सुवेदी उपाध्यक्ष थिइन्

एकीकृत नेकपा माओवादीका एक नेताले अध्यक्ष प्रचण्ड विदेशबाट फर्किएपछि मात्रै उपाध्यक्ष पदका लागि आफ्नो पार्टीको उम्मेद्वारीबारे टुंगो लगाइने बताए।

संविधानसभाको उपाध्यक्षका लागि आगामी मंगलबार निर्वाचन हुँदैछ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले उपाध्यक्ष पदका लागि आउँदो साता मंगलबार निर्वाचन गराउने घोषणा गरिसकेका छन्।

नेम्वाङ्गको पार्टी नेकपा एमालेका सचिव विष्णु पौडेलले संविधानसभाको तेस्रो दलको हैसियतमा एकीकृत नेकपा माओवादीले नै संविधानसभाको उपाध्यक्ष पद पाउनुपर्ने बताए।

“एकीकृत माओवादीले यदि उपसभामुख (उपाध्यक्ष) पदको लागि उम्मेदवारी दियो भने हामी उहाँहरुको पक्षमा उभिन्छौं।”

संविधानसभाको अध्यक्ष पदका लागि उम्मेद्वारी दिने बताएको एकीकृत माओवादीले अन्तिम समयमा उम्मेद्वारी दिएन।

'वचन'

नेपाली कांग्रेस र नेकपा एमालेले उपाध्यक्षका लागि सघाउने वचन दिएकाले उसले उम्मेद्वारी नदिएको बताइएको थियो।

तर तीनवटै दलका नेताहरुले त्यस्तो कुनै सहमति चाहिँ नभएको दाबी गरेका छन्।

नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले आफूहरुले एकीकृत माओवादीलाई उपाध्यक्षमा सघाउनुका साथै सरकारमै स्वागत गर्न तयार रहेको बताए।

“संविधानसभाबाट संविधान जारी गर्ने कुरा सुनिश्चित गर्नको लागि हामी एकीकृत माओवादी दललाई सरकारमा सम्म पनि स्वागत गर्न हामी आतुर छौं।”

“उहाँहरुको तर्फबाट उपसभामुख बन्ने इच्छा भयो भने हामी सहयोग गर्छौं।”

एकीकृत माओवादीले यसअघि सभाध्यक्ष पदका लागि नेता कृष्णबहादुर महरालाई उठाउने चर्चा चलेको थियो।

‘पालो दिने’

तर उपाध्यक्षमा चाही उम्मेदवारी दिने वा नदिने अझै टुङ्गो लागिनसकेको उक्त पार्टीका नेता पोष्टबहादुर बोगटीले बताए।

अघिल्लो संविधानसभामा एकीकृत माओवादीको तर्फबाट पूर्णाकुमारी सुवेदी उपाध्यक्ष थिइन्।

बीबीसी नेपाली सेवासंग कुरा गर्दै उनले आफ्नो विगतको कार्यकालमा “खासै कुनै भूमिका नभएको र अध्यक्षलाई पालो दिने मात्रै काम” भएको बताइन्।