मन्त्री छान्न प्रधानमन्त्री-देउवासँग परामर्श

  • 21 फेब्रुअरी 2014
प्रधानमन्त्री कोइराला एमाले अध्यक्षसँग
Image caption कांग्रेस र एमालेबीचको असमझदारीले गर्न मन्त्रिपरिषद विस्तार अवरुद्ध बनेको छ

मन्त्रिपरिषद विस्तारमा ढिलाई हुँदै गएपछि प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो पार्टीका मन्त्री छान्न आन्तरिक गृहकार्य तीव्र बनाएका छन्।

त्यसको निम्ति आन्तरिक शक्ति सन्तुलन मिलाउन उनले वरिष्ठ नेता शेरबहादुर देउवासँग परामर्श गरेका छन्।

कांग्रेस सह-महामन्त्री पूर्णबहादुर खड्काले ढिलोमा आइतवारसम्ममा मन्त्रिपरिषद विस्तार हुने बताए।

आग्रह

गृह-मन्त्रालयको अडानबाट नेकपा एमाले टसमस नगरेपछि प्रधानमन्त्री कोइरालाले आफ्नो पार्टीका मात्रै भए पनि मन्त्री नियुक्त गर्ने मनस्थिति बनाएका थिए।

त्यसलाई अन्तिम रुप दिन उनले संसदीय दलमा आफूलाई चुनौती दिएका वरिष्ठ नेता शेरबहादुर देउवासँग संसदीय वोर्डको बैठकपछि छलफल गरेका हुन्।

दुई शीर्ष नेताबीचको वार्ता श्रृँखलावद्ध रुपमा हुने बताइएको छ।

मन्त्रीको नाम दिन प्रधानमन्त्रीले गरेको आग्रह देउवाले बेवास्ता गरेकाले मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको प्राप्त समाचारहरुमा जनाइएको छ।

तर सह-महामन्त्री पूर्णबहादुर खड्काले देउवा राजनीतिक गृहकार्यकै निम्ति आफ्नो गृहक्षेत्र सुदूर पश्चिमाञ्चलमा प्रमुख अतिथि हुने पूर्व कार्यक्रम रद्द गरेको बताउँदै भने, “त्यस्तो होइन्, आन्तरिक र अरु दलसँगको छलफललाई तीव्र बानउनु पर्ने खाँचो छ, अव ढिलोमा आइतवारसम्ममा मन्त्रिपरिषद विस्तार हुन्छ।”

फिक्का

प्रधानमन्त्री निकट नेताहरुले मन्त्रिपरिषद विस्तार आजै हुन्छ, भोली हुन्छ भन्न थालेको यो हप्ताको शुरुदेखि हो।

कांग्रेस संसदीय बोर्डको शुक्रवार डाकिएको बैठकले त्यसको टुंगो लगाउने ठानिए पनि कुनै निर्णय भएन।

कारणबारे सह-महामन्त्री खड्काले भने, “अन्य दलसँगको छलफलबारे प्रधानमन्त्री र वार्ता टोलीका सदस्यहरुले बैठकमा जानकारी गराउनु भयो, सकेसम्म एमाले लगायतका दलहरुसँगै अघि बढ्नेमा बैठकमा एकमत रह्यो, संसदमा सरकारलाई बधाइ दिने कार्यक्रम भएकाले लामो छलफल हुन नपाएको हो।”

वर्ष दिनभित्र संविधान जारी गरी प्रधानमन्त्रीबाट राजीनामा दिने शुरुको घोषणाले कोइरालाप्रति जगाइदिएको आकर्षण दुईसाता हुँदा नहुँदै धेरथोर किन नहोस फिक्का हुन थालेको छ।

त्यसको कारण अरु कोही नभई उनले सहकार्यको निम्ति आफैले रोजेको एमालेसँगको सम्वन्धलाई व्यवस्थित गर्न एवं आफ्नै दलभित्रको सन्तुलन मिलाउन नसक्नुलाई नै ठानिएको छ।