युक्रेनमा हिंसाका निम्ती जिम्मेवारहरुप्रति इयुको प्रतिबन्ध

  • 21 फेब्रुअरी 2014
युक्रेनमा  हिंसा तस्वीर कपीराइट Reuters
Image caption युक्रेनमा सबैभन्दा हिंसात्मक दिन भनिएको विहीबार मारिनेहरु संख्या यकिन भैसकेको छैन

युरोपेली संघ, इयु, का विदेशमन्त्रीहरुले युक्रेनमा विरोध प्रदर्शनकारीहरु विरुद्धको हिंसा र अत्यधिक बल प्रयोगका लागि जिम्मेवार अधिकारीहरु विरुद्ध प्रतिबन्धहरु लगाउन सहमति जनाएका छन्।

एउटा बक्तव्यमा ति विदेशमन्त्रीहरुले भनेका छन् निश्चित अधिकारीहरुमाथि लक्ष्यीत त्यस्ता प्रतिबन्धहरुमा तिनीहरुको विदेशस्थित सम्पत्ति रोक्का गर्ने र प्रवेशाज्ञा नदिने जस्ता कदमहरु चालिने बताइएको छ।

इयुका विदेशमन्त्रीहरुले जारी गरेका संयुक्त बक्तव्यमा भनिएको छ, युक्रेनमा देखिएको दमनको स्तरको औचित्यलाई कुनै ‌पनि कारणले ‌पुष्टि गर्न सकिंदैन।

इयुकी विदेश नीति प्रमुख क्याथरिन एशटनले भनेकी छन्, द्वन्द्वका दुवै पक्षबीच वार्ता चलाउने मुख्य जिम्मेवारी राष्ट्रपति भिक्तोर यानुकोभिचको हो।

खेद

ब्रसल्समा युरोपेली संघका विदेशमन्त्रीको आपतकालीन बैठकपछि बोल्दै उनले युक्रेनमा चर्कीएको पछिल्लो हिंसाप्रति खेद प्रकट गरिएको बताइन्।

युक्रेनमा सरकार विराधी प्रदर्शनहरु सुरु भएयताको सबैभन्दा हिंसात्मक भनिएको दिनमा, विहीबार मात्रै राजधानी कियभमा २१ जना प्रदर्शनकारीहरु मारिएका अधिकारीहरुले बताएका छन्।

तिनीहरुले एकजना प्रहरीको पनि ज्यान गएको बताएका छन्। विरोध प्रदर्शनकारीहरुले मारिनेहरुको संख्या त्यो भन्दा निकै धेरै भएको बताएका छन्।

विहीबार भएको हिंसामा प्रहरीहरुको समूहले प्रदर्शनकारीमाथि गोली चलाएका थिए।

गोली

तस्वीर कपीराइट Reuters
Image caption युक्रेनी सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरु विरुद्ध गोली चलाएका थिए

बीबीसी सम्बाददाताहरु भन्छन्, केही प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि गोली चलाएका थिए।

देशको स्वास्थ्य मन्त्रीले भनेका छन्, गत मंगलबारदेखि चर्कीएको पछिल्लो हिंसा यता पचहत्तर जना मारिएका छन् भने ५७० जना भन्दा बढी घाइते भएका छन्।

आन्तरिक मामिला मन्त्रालयले, प्रदर्शनकारीहरुले ६७ जना प्रहरीलाई नियन्त्रणमा लिएका बताएको छ। ‌

युरोपेली संघले हालसम्म युक्रेन विरुद्ध प्रतिबन्ध लगाउनु पर्ने मागहरुलाई टार्दै आइरहेको थियो। र उक्त संस्थाको जोड वार्ता र सहमतिहरुमाथि रहेको थियो।

अमेरिकी विदेशमन्त्रालयले यसअघि नै युक्रेनी सरकारका बीसजना सदस्य विरुद्ध प्रवेशाज्ञा प्रतिबन्ध लगाइसकेको छ।