'युरोपसँग नजिकको सम्बन्ध' मा जोड

  • 24 फेब्रुअरी 2014
तस्वीर कपीराइट AFP
Image caption युक्रेनको इन्डिपेन्डेन्स स्क्वायरमा प्रदर्शनकारीहरुले डेरा जमाएका छन्

युक्रेनका नयाँ अन्तरिम राष्ट्रपति ओलेक्जान्डर टुर्चिनोभले युरोपसँगको आर्थीक एकिकरणको बाटोमा आफ्नो देशलाई फर्काउनु उनको उच्च प्राथमिकता हुने बताएका छन्।

उनको त्यस्तो भनाई आए लगत्तै रुसले युक्रेनस्थित आफ्ना राजदुतलाई छलफलका लागी मस्को बोलाएको छ।

संसदले शनिबार भिक्तर यानुकोभिचलाई पदमुक्त गरेपछि टुर्चिनोभ नयाँ राष्ट्रपति बनेका हुन्।

यानुकोभिचले युरोपसँगको व्यापार सम्झौता अस्विकार गरेपछि शुरु भएका प्रदर्शनहरुका कारण सत्ता गुमाउनु परेको थियो।

रोजाई

अन्तरीम राष्ट्रपति टुर्चिनोभले यानुकोभिचलाई समर्थन गरेको रुससँग पनि वार्ता गर्न आफू तयार रहेको बताए।

आफू निर्वाचित भएको केहि घन्टापछी टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले युरोपेली देशहरुकै परिवारमा फर्कनुपर्नेमा जोड दिए।

राष्ट्रपति टुर्चिनोभले भने,"हामीले रुसी संघसँगको सम्बन्धको महत्वलाई बुझेका छौ र युरोपेली रोजाई स्विकार गर्दै नयाँ, निष्पक्ष, समान र छिमेकका आधार सम्बन्ध स्थापित गर्न रुसी नेतृत्वसँग छलफल गर्न तयार छौँ।”

युरोपियन युनियनकी विदेश निति प्रमुख क्याथरीन अस्टनले युक्रेनमा राजनीतिक संकटको दिगो समाधान र आर्थीक स्थायित्वका लागी चाल्न सकिने कदमहरुबारे ईयूले गर्न सक्ने सहयोगबारे छलफल गर्न उनले सोमबार किएभको भ्रमण गर्ने घोषणा गरेकी छन्।

रुसले कियभमा भैरहेको घटनाक्रम प्रति आफ्नो समर्थन नरहेको प्रष्ट पारेको छ।

आक्रोशित

रुसी परराष्ट्रमन्त्री सर्गेइ लाव्रोवले युक्रेन शुक्रबार भएको राजनीतिक सहमतिबाट पर हटेको आरोप लगाए।

विपक्षीहरुले किएभमा सता कब्जा गरेको, निशस्त्र हुन अस्विकार गरेको र हिंसाको साहारा लिइरहेको उनको भनाई छ।

किएभस्थित आफ्ना राजदुतलाई रुसले छलफलका लागी भन्दै फिर्ता बोलाएको छ।

अमेरीकाले युक्रेनको संसदको निर्णय बैधानिक भएको भन्दै रुसलाई त्यहाँ कुनै शैनिक हस्तक्षेप नगर्न चेतावनी दिएको छ।

आइतबार अमेरीकी सुरक्षा सल्लाहाकार सुजन राईसले रुसले शैनिक हस्तक्षेप गर्नु गम्भिर गल्ती हुने चेतावनी दिइन्।

युक्रेन संकटमा अमेरीका र रुस परस्पर विरोधी कित्तामा उभिएका थिए र युरोपियन युनियन र अमेरीकाले विपक्षीहरुलाई समर्थन गरेका थिए।