युक्रेनको क्राइमियामा बढ्दो तनाव

  • 26 फेब्रुअरी 2014
रुस समर्थक युक्रेनीहरु तस्वीर कपीराइट AFP
Image caption क्राइमियामा रुस समर्थक युक्रेनीहरुले आफुहरुको सुरक्षाकालागि मस्कोलाई आह्वान गरेका छन्

युक्रेनको क्राइमियाका प्रहरीले क्षेत्रीय संसद भवन बाहिर प्रदर्शन गरिरहेका रुस विरोधी तथा समर्थक समूहहरुलाई आपसमा भीडन्त गर्न नदिन प्रयास गरिरहेका छन्।

तातार मुसलमान समुदायका झण्डै दशहजार मानिसहरुले युक्रेनको राष्ट्रिय झण्डा फहराउँदै “युक्रेन रुस होइन” भन्ने नाराहरु लगाएका थिए।

रुस समर्थक एउटा सानो समूहले आफुहरुको रक्षा गर्न मस्कोलाई आह्वान गरेको थियो।

यसैबीच युक्रेनको अन्तरिम सरकारले देशको विशिष्ट दङ्गा प्रहरी सँगठनलाई भङ्ग गरिएको जनाएको छ।

आरोप

प्रदर्शनकारीहरुले गत साता राजधानी कियभमा झण्डै एक सय जनाको मृत्युकालागि उक्त सँगठन जिम्मेवार रहेको आरोप लगाएका थिए।

यु्क्रेनमा अन्तरिम गृह मन्त्री आर्सेन आभाकोभले प्रदर्शनकारीहरुको मृत्युकालागि जिम्मेवार ठानिएको बर्कुत प्रहरी इकाईलाई भङ्ग गरिएको बताए।

उनीहरुको भविष्य के हुन्छ भन्ने स्पष्ट छैन।

गृह मन्त्रीले यसबारे छिट्टै थप जानकारी दिइने पनि बताएका छन्।

उक्त इकाईमा चार हजार देखि पाँच हजारसम्म सदस्यहरु छन् र उनीहरुलाई देशभरिनै खटाइन्छ।

बुधबार नै मैदान भनेर चिनिने इन्डिपेन्डेन्स स्क्वायरमा नयाँ मन्त्रिपरिषदलाई सार्वजनिक गरिने बताइएको छ।

अन्तरिम राष्ट्रपति ओलेक्सन्डर टुर्चिनोभले आफुले देशको सशस्त्र सेनाको प्रमुखको जिम्मेवारी सँहालेको पनि जनाएका छन्।

सत्ताच्युत गरिएका राष्ट्रपति भिक्टर यानुकोविचले गत सप्ताहान्तमा राजधानी कियभ छाडेका थिए।

उनी कहाँ छन् भन्ने स्पष्ट भैसकेको छैन।

पुर्जी

अन्तरिम सरकारले उनलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ।

मँगलबार युक्रेनको संसदले दङ्गा प्रहरीद्वारा मारिएका एकसय जना भन्दा बढी प्रदर्शनकारीहरको मृत्युकालागि जिम्मेवार ठहराउँदै भूतपूर्व राष्ट्रपति यानुकोविच विरुद्ध दि हेगस्थित अन्तर्राष्ट्रिय फौज्दारी अदालतमा मुद्दा चलाउने पक्षमा एउटा प्रस्ताव पारित गरेको थियो।

राजनीतिक अनिश्चितताका कारण लामो समयदेखि बल्झिरहेको आर्थिक समस्याहरु अरु जटिल बन्दै जाँदा युक्रेनको मुद्रा अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै तल्लो बिन्दुमा झरेको छ।

बीबीसीसँग कुरा गर्दै युरोपेली सँघकालागि रुसी राजदूत भ्लादिमिर चिझोभले आर्थिक सहायता विना युक्रेनमा स्थायित्व आउन नसक्ने बताए।

उनले भने, “युक्रेनमा देशलाई प्रतिनिधित्व गर्ने नयाँ व्यक्तित्वहरुका वक्तव्यहरुबाट हामी के कुरा बुझ्छौं भने त्यहाँ राज्यकोष रित्तो छ। म तपाईंहरुलाई के संझना दिलाउन चाहन्छु भने युक्रेनले रुसी कम्पनी ग्याजप्रमलाई ग्याँस खरीद वापत झण्डै तीन अर्ब डलर तिर्न बाँकी नै छ।”

युक्रेनमा राजनीतिक सँकट गहिरिँदै जाँदा रुसले उसलाई दिने भनेको पन्ध्र अर्ब डलरको सहुलियत ऋण सहायता रोकीदिएको थियो।

त्यसले गर्दा युक्रेनले युरोपेली संघ तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिनु पर्ने आवश्यकता अरु बढेर गएको जानकारहरु बताउँछन्।