युक्रेनद्वारा रुसलाई चेतावनी

  • 27 फेब्रुअरी 2014
टुर्चिनोभ तस्वीर कपीराइट Reuters
Image caption अन्तरिम राष्ट्रपतिले क्राइमियामा कुनैपनि किसिमको उत्तेजना फैलाउने काम नगर्न रुसलाई आग्रह गरेका छन्

युक्रेनका कार्यवाहक राष्ट्रपतिले क्राइमियास्थित नौसैनिक अखाडाभन्दा बाहिर रुसी सैनिकको कुनै पनि गतिविधिलाई अतिक्रमणको रुपमा लिइने चेतावनी दिएका छन्।

दक्षिणी युक्रेनी प्रान्तको राजधानी सिम्फेरोपोलस्थित सरकारी भवनहरुमा सशस्त्र मानिसहरुको समूहले कब्जा जमाए पछि उनले त्यस्तो चेतावनी दिएका हुन्।

युक्रेनका अन्तरिम राष्ट्रपति ओलेक्सान्डर टुर्चिनोभले क्राइमियामा कुनैपनि किसिमको उत्तेजना फैलाउने काम नगर्न रुसलाई आग्रह गरे।

उनले भने,, "म रुस संघको नेतृत्वलाई स्वायत्त गणतन्त्र क्राइमिया तथा सेभास्टोपोफ शहरमा रहेको रुसी सैन्य उपस्थिति संबन्धमा गरिएको आधारभूत संझौताको सम्मान गर्न आह्वान गर्दछु।"

चेतावनी

उनले ब्ल्याक सीस्थित रुसी सैन्य आफ्नो अखाडा भन्दा बाहिर निस्केमा त्यसलाई युक्रेनविरुद्ध सैन्य अतिक्रमण ठानिने चेतावनी पनि दिए।

उनको त्यस्तो भनाइ रुसले युक्रेनसंग सीमा जोडिएको क्षेत्रमा आफ्ना डेढ लाख सैन्य सहभागी भएको एउटा सैन्य अभ्यास शुरु गर्दै गर्दा आएको हो।

युक्रेनमा गत साता भएका नाटकीय घटनाहरुपछि राष्ट्रपति भिक्टर यानुकोविचले राजधानी छाडेर भागेपछि रुस तथा युक्रेनबीच सम्बन्ध निकै चिसिएको छ।

रुसका रक्षा मन्त्रीले सीमा क्षेत्रमा लडाकू जेटहरुले लगातार हवाइ गश्ती गरिरहेको बताए।

रुसी विदेश मन्त्रालयले युक्रेनमा मानवअधिकारको व्यापक हनन भैरहेको भन्दै चिन्ता व्यक्त गरेको छ।

झण्डा

जातीय रुसीहरुको बसोबास रहेको क्राइमियाको क्षेत्रीय संसदमा सशस्त्र मानिसहरुको एक समूहले कब्जा जमाउनुकासाथै रुसको झण्डा फहराएका थिए।

ती व्यक्तिहरु को हुन् भन्ने स्पष्ट भैसकेको छैन।

कम्तीमा दुईजनाको ज्यान गएको बताइएको छ।

युक्रेनको सँकट सुल्झाउन मध्यस्थकर्ताको रुपमा काम गरेको पोल्याण्डले भनेको छ, बन्दूकधारी तथा तिनका समर्थकहरुले एउटा खतरनाक खेल खेलीरहेका छन् जसले क्षेत्रीय द्वन्द्व निम्त्याउन सक्छ।

यसैबीच सत्ताच्युत गरिएका युक्रेनका राष्ट्रपति भिक्टर यानुकोविचले रुस सरकारलाई उनको व्यक्तिगत सुरक्षा निश्चित गर्न आग्रह गरेका छन्।

कियभ छाडेको केही दिनपछि प्रकाशित एक वक्तव्य रुसी टेलिभिजनहरुमा पढेर सुनाइएको थियो।

उनले आफु अझै पनि युक्रेनको वैधानिक राष्ट्राध्यक्ष भएको बताए।

'कानुनविहीन स्थिति'

यानुकोविचले भने, "दक्षिण तथा पूर्वी युक्रेन एवम् क्राइमियाका जनताले मैदानमा उपस्थित भीडद्वारा मन्त्रिपरिषदको समर्थन लिने कानुनविहीन स्थितिलाई स्वीकार्ने छैनन्।"

उनले युक्रेनमा सशस्त्र द्वन्द्व हुनसक्ने चेतावनी पनि दिए।

यसअघि युक्रेनको संसदले यानुकोविचविरुद्ध झण्डै एकसयजना प्रदर्शनकारीहरुको मृत्युकालागि जिम्मेवार रहेको आरोप लगाउँदै उनी विरुद्ध दि हेगस्थित अन्तर्राष्ट्रिय फौज्दारी अदालतमा मुद्दा चलाउने संबन्धी एउटा प्रस्ताव पारित गरेको थियो।

युक्रेनको अन्तरिम सरकारले यानुकोविच र उनको सरकारका केही वरिष्ठ अधिकारीहरुलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ।

अन्तरिम सरकारले प्रदर्शनकारीहरुको मृत्युकालागि जिम्मेवार रहेको आरोप लागेको दङ्गा प्रहरी सँगठनलाई पनि भङ्ग गरीदिएको छ।