अन्तरघात हारको एक कारण: एमाओवादी

  • 28 फेब्रुअरी 2014
तस्वीर कपीराइट AFP
Image caption पहिलो संविधानसभाबाट ठूलो दल चुनिएको माओवादी दलले दोस्रो चुनावमा पराजय भोगेको हो

पार्टीकै कतिपय नेता तथा कार्यकर्ताले पैसा लिएर विपक्षीको चुनाव प्रचार गरेको समेत प्रारम्भिक अध्ययनबाट देखिएको पुर्व पोलिटब्युरो सदस्य समेत रहेका हरिबोल गजुरेलले बताए।

संविधानसभाको चुनाव लगत्तै भएको मतगणनाका प्रारम्भिक नतिजा आउने वितिक्कै चुनावमा धाँधली भएको भन्दै एकीकृत माओवादीले मतगणना नै बहिष्कार गरेको थियो।

त्यसपछि संविधानसभामै नजाने समेत बताएको उक्त पार्टिलाई अन्य दलले संसदीय छानबिन गरिने आश्वासन दिएर बल्लतल्ल मनाएका थिए।

छानबिन

तर सोही पार्टिले गठन गरेको आन्तरिक छानबिन समितिका संयोजक हरिबोल गजुरेलका अनुसार पार्टिको हारमा अन्तरघात पनि प्रमुख कारण देखिएको छ।

“२० देखि २५ सीट चाँही गुटवन्दी वा अन्तरघातको प्रत्यक्ष कारणले नै हारेको भन्ने देखिन्छ।”

समितिमा प्राप्त निवेदनहरुको प्रारम्भिक अध्ययनपछि उनले प्रारम्भिक नतीजा बीबीसीलाई बताएका हुन्।

यसअघि एकीकृत माओवादीले संस्थागत, नीतिगत र संरचनागत धाँधलीका कारण आफुले पराजय भोग्नु परेको बताउँदै आएको थियो।

तर पार्टिको आन्तरिक कमजोरीबारे पनि छानविन गर्न झण्डै एक महिनाअघि नेता गजुरेलको संयोजकत्वमा समिति गठन भएको थयो।

समितिमा उजुरी हाल्ने हिजो अन्तिम दिन पार्टीको तल्लो निकायहरुबाट समेत गरी झण्डै सयवटा निवेदन परेको संयोजक गजुरेलले बताए।

रिपोर्टहरु

पार्टीका प्रमुख नेताहरु चुनाव लडेको क्षेत्रहरुमा समेत अन्तरघात भएको रिपोर्ट आएको उनले बताए।

प्राप्त विवरणहरुको आजबाट थप अध्ययन गर्ने र दोषि देखिए पार्टीले कार्वाही गर्ने नेता गजुरेलले बताएका छन्।

उनको दलले आगामी दिनका संसद बैठकहरुमा धाँधली छानबिनका लागि यसअघि सहमति गरिएको सँसदीय छानबिनको माग पनि सशक्त उठाउने बताउदै आएको छ।