रुस र युक्रेन बीच चर्कदो बिवाद

  • 2 मार्च 2014
तस्वीर कपीराइट AP
Image caption रुस र राष्ट्रपति पुटिनको विरोधमा युक्रेनका बिभिन्न भागमा प्रदर्शनहरु भएका छन्

क्राइमियामा रुसले सैनिक सुदृढीकरण गरि रहेको समयमा युक्रेनले पूर्ण स्तरमा सैनिक परिचालन गर्न आदेश दिएको छ।

कार्यवाहक राष्ट्रपति ओलेक्सान्डर टुरचिनोभले गैह्र सैनिक बाहेक अरु सबै विमानका लागि हवाइ क्षेत्र बन्द गर्न आदेश दिएका छन्।

उनले रुसलाई कुनै पनि सैनिक कार्यवाहीको गम्भीर परिणाम आउने चेतावनी दिंदै भने,"रुसी सेना तथा नेतृत्वले त्यसको जिम्मेवारी लिनु पर्छ।"

युक्रेनले पहिलो गोली आफुले नचलाउने कुरा बताए पनि सशस्त्र सैन्यलाई युद्धका लागि तैयार अवस्थामा राखेको छ।

कुराकानी

तनावका माझ रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले टेलिफोनमा अमेरिकी राष्ट्रपति ओबामासंग ९० मिनेट लामो कुराकानी गरेका थिए।

त्यस क्रममा युक्रेनमा आफ्नो चासो र त्यहाँका रुसी भाषिहरुको सुरक्षा गर्ने अधिकार क्रेमलिनसंग भएको उनले स्पष्ट पारेको बताइएको छ।

राष्ट्रपति ओबामाले चाहीं रुसलाई युक्रेन सरकारसँग छलफल गर्न जोड दिदैँ रुसले युक्रनेको सार्वभौमसत्तामाथी अतिक्रमण गरे त्यसबाट मस्को राजनीतिक र आर्थिक रुपमा थप एक्लो हुने बताएका थिए।

राष्ट्रसंघिय सुरक्षा परिषदको आपतकालीन सत्रमा संयुक्त राज्य अमेरिकाले युक्रेनको अवस्थाबारे अनुगमन गर्न राष्ट्रसंघका पर्यवक्षकहरुलाई त्यहाँ पठाउनु पर्ने माग गरेको छ।

चिन्ता

क्राइमियामा तीन वटा युक्रेनी अखाडामा सृजना गरिएको अवरोध प्रति चिन्ता बढ्दो छ।

कियेभले आफ्ना सैन्यलाई त्यहाँबाट स्वतन्त्र रुपमा निस्कन दिन माग गरेको छ।

क्राइमियामा मात्र तनावपूर्ण अवस्था छैन।

युक्रेनका अन्य शहरहरुमा पनि रुसको समर्थन गर्दै ठुल- ठुला –यालीहरु भएका छन्।

बिभिन्न स्थानमा रुसको विरोधमा पनि प्रदर्शनहरु भएका छन्।

युक्रेनको संकट बारे छलफल गर्न उत्तर एटलान्टीक सन्धी संगठन नेटोको आपतकालिन बैठक बस्दैछ।

अमेरिकी बिदेशमन्त्री जोन केरीले रुसले G-8 समुहको सदस्यता गुमाउने खतरा रहेको कुरा बताएका छन्।

उनले भने,रुसी ब्यवसायहरुको सम्पत्तिमाथी रोक लगाउने संभावना पनि छ।