'युक्रेनमा सैनिक हस्तक्षेपको बचाउ गर्ने रुसी प्रयास'

  • 4 मार्च 2014
रुसी राजदूत  भिताली चुर्किन तस्वीर कपीराइट Reuters
Image caption रुसी राजदूतले युक्रेनका अपदस्थ राष्ट्रपतिले लेखेको भनिएको पत्र सुरक्षा परिषदको बैठकमा देखाएका थिए

रुसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा, युक्रेनमा सैनिक हस्तक्षेपको बचाउ गर्दै आफ्ना सैनिकहरुलाई युक्रेनका अपदस्थ राष्ट्रपति यानुकोभिचले देशमा गृहयुद्ध रोक्न निम्त्याएका बताएको छ।

अपदस्थ राष्ट्रपति भिक्तोर यानुकोभिचले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र लेखेर सेना पठाउन अनुरोध गरेका कारण आफूहरुको कदम कानूनसम्मत रहेको उनको दावी छ।

रुसी दूत भिताली चुर्कीनले रुसले क्राइमियाका बासिन्दाको अधिकारहरुको सुरक्षा गरिरहेको बताउंदै भने, “क्राइमिया र दक्षिणपूर्वी क्षेत्रका बासिन्दाको जीउधनको सुरक्षामाथि वास्तविक खतरा उत्पन्न भएको छ, यस्तो स्थितीमा रुसको कदम पूर्ण रुपमा उपयुक्त र वैध छ।“

"उक्त देशमा भद्रगोल र मनपरी भैरहेको छ। जनताको सुरक्षा र अधिकार खतरामा छ विशेषगरी क्राइमिया र दक्षिणपूर्वी क्षेत्रमा,"रुसी राजदूतको भनाई थियो।

रुसको त्यस्तो दावीलाई अन्य कुटनीतिज्ञहरुले आलोचना गरेका थिए।

अमेरिकी राष्ट्रपति ओबामाले रुस इतिहासको गलत दिशामा उभिएको भन्दै उक्त देश अब बढ्दो रुपमा एक्लिंदै जाने बताएका छन्।

अमेरिकी रक्षा मन्त्रालयले युक्रेनको घटनाक्रमलाई ध्यानमा राख्‍दै रुससंगको सबै सैनिक सम्बन्धहरुलाई स्थगित गरिएको घोषणा गरेको छ।

उता क्राइमियामा रुसी सैनिकहरुको उपस्थिती झन सुदृढ तुल्याउंदै लगिएको सम्बाददाताहरुले बताएका छन्।

कब्जा

गत विहीबार रुसको पहिलो कदम देखिएको थियो जुन बेला मुकुण्डो लगाएका बन्दूकधारीहरुले क्राइमियाको संसदलाई कब्जामा लिएका थिए।

तिनीहरुले संसदका रुस समर्थक सदस्यहरुलाई क्राइमियाको निम्ती नयां नेता चयन गर्ने अवसर दिएका थिए जस्ले तत्कालै सहयोगका लागि मस्कोलाई गुहारे।

त्यसपछि क्राइमियाको सिम्फेरोपोल र सेभास्तोपोलमा रहेका विमानस्थलहरुमा र बांकी युक्रेनसंग स्थलसिमा जोडिएको उत्तरी नाकामा थप बन्दूकधारीहरु देखा परेका थिए।

त्यसपछि रुसको ब्ल्याक सि स्थित नौसैनिक पानी जहाजहरु सकृय भएका थिए।

युक्रेनले मस्कोलाई पहिलेका सहमतिहरु भंग गर्दै अरु छ हजार सैनिकहरु क्राइमियास्थित अखडामा थपेको र उक्त प्रायद्वीपलाई स्थल र जल क्षेत्रमा गस्ती गरेर कब्जामा लिएको आरोप लगाएको छ।

चिन्ता

रुसले पूर्वी युक्रेनको रुसी भाषी डोनेत्सक वा खार्कीभ क्षेत्रलाई पनि कि त रुस समर्थक स्थानीयबासी परिचालन गरेर या सैनिक हस्तक्षेप गरेर नियन्त्रणमा लिन सक्ने चिन्ता व्यक्त भैरहेको छ।

तर पश्चिमा देशहरुले अरु अगाडी बढ्नबाट रुसी राष्ट्रपति पुटिनलाई रोक्न के कदम चाल्न सक्छन् भन्ने स्पष्ट भैसकेको छैन।

तर यो पछिल्लो प्रकरणले स्वदेशमा परेको आर्थिक प्रभावले उनलाई शायद आफ्नो कदम रोक्न लगाउन सक्छ।

रुसी शेयरहरुको मूल्यमा तिब्र गिरावट आएको छ भने रुसी मुद्रा रुबलको भाउ हालसम्मकै सबैभन्दा कम मुल्यमा झरेको छ।