युक्रेन सँकटबारे पेरिसमा वार्ता

  • 5 मार्च 2014
रुस समर्थित सैन्य तस्वीर कपीराइट AP
Image caption युक्रेनको क्राइमिया क्षेत्र रुस समर्थित सैन्यको नियन्त्रणमा रहेको ठानिएको छ

युक्रेनमा जारी राजनीतिक तथा सैनिक सँकटलाई कम गर्न पेरिसमा सघन कूटनीतिक प्रयासहरु भैरहेका छन्।

द्वन्द्व बढेयता पहिलो पटक रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले आफ्ना अमेरिकी तथा युरोपेली समकक्षीहरुलाई प्रत्यक्ष भेटघाट गर्दैछन्।

तर कुनै महत्वपूर्ण उपलब्धि हासिल हुने संभावना कमै छ।

पेरिसमा पूर्व निर्धारित बैठकमा लेबनानको बारेमा छलफल हुने योजना थियो।

तर युक्रेनका घटनाहरुले लेबनानको समस्यालाई ओझेलमा पारीदियो।

वार्ता

युक्रेन सँकट चर्कँदै जाँदा अमेरिकी विदेश मन्त्री जोन केरी तथा उनका रुसी समकक्षी सेर्गेइ लाभ्रोभबीच प्रत्यक्ष वार्ता हुन लागेको हो।

संयुक्त राज्य अमेरिकाले युक्रेनको क्राइमिया क्षेत्रमा स्वतन्त्र पर्यवेक्षकहरु खटाउने तथा कियभ एवम् मस्कोबीच प्रत्यक्ष वार्ताको प्रस्ताव राख्‍ने अपेक्षा गरिएको छ।

त्यस्तै रुसले कियभ सरकारमा युक्रेनका रुसी भाषा बोल्ने इलाकाहरुबाट थप प्रतिनिधित्व गराउन माग गर्ने ठानिएको छ।

ब्रिटिश विदेश मन्त्री विलियम हेगले पेरिस वार्ताबाट खासै उपलब्धि हुने आफुले अपेक्षा नगरेको बताए।

तर उनले भने, "हामीले रुसलाई युक्रेनी अधिकारीहरुसंग मन्त्रीस्तरीय वा सैनिक सूत्रहरु मार्फत प्रत्यक्ष वार्ता गर्न भनिरहने छौं। त्यसो नभएमा संयुक्त राष्ट्र संघ वा युरोपेली सुरक्षा तथा सहयोग सँगठनमार्फत पनि उनीहरु आपसमा कुराकानी गर्न सक्छन्।"

पर्यवेक्षक

युरोपेली सुरक्षा तथा सहयोगसंबन्धी संगठनले युक्रेन सरकारको अनुरोधमा पैंतीसजना निशस्त्र सैनिक पर्यवेक्षकहरु त्यहाँ पठाउन लागेको जनाएको छ।

रुसले महिनौं लामो विरोध प्रदर्शनहरुपछि आफ्नो समर्थन प्राप्त राष्ट्रपति भिक्टर यानुकोविचलाई सत्ताच्युत गरेर युक्रेनमा गठित नयाँ सरकारलाई मान्यता दिएको छैन।

विदेश मन्त्री लाभ्रोभले राजधानी कियभमा हुलदङ्गा गर्ने सशस्त्र प्रदर्शनकारीहरुलाई समर्थन गरेर पश्चिमा मुलुकहरुले एउटा गलत परम्परा बसालेको आरोप पनि लगाए।

राष्ट्रपति ओबामाले जर्मन चान्सलर एङ्गेला मर्केलसँग कुरा गर्दै क्राइमियामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु खटाउने लगायत सँकट समाधानका संभाव्य उपायहरुबारे कुराकानी गरेका छन्।

उता ब्रसेल्समा उत्तर एटलान्टिक सन्ध‌ि सँगठन नेटो र रुसी अधिकारीहरुबीच समानान्तर वार्ता हुन गैरहेको छ।

घोषणा

यसैबीच युरोपेली सँघले आउँदो दुई बर्षमा युक्रेनलाई पन्ध्र अर्ब डलर बराबर सहायता दिने घोषणा गरेको छ।

युरोपेली आयोगका अध्यक्ष जोवे मनुअल बारुजुले भने, "उक्त ऋण युक्रेनको आर्थिक स्थितिलाई स्थिर तुल्याउन कियभको नयाँ सरकारलाई युरोपेली संघले गर्ने भनेको सहायताको एउटा अँश हो।"

यसअघि मँगलबार संयुक्त राज्य अमेरिकाले युक्रेनलाई एक अर्ब डलर बराबरको ऋण प्रत्याभूति दिने प्रस्ताव गरेको थियो।