युक्रेनी टोली प्यारालम्पिक्समा सहभागी हुने

  • 7 मार्च 2014
सोची ओलम्पिक्स तस्वीर कपीराइट AP
Image caption गत महिना सोचीमा हिउँदे ओलम्पिक खेल आयोजना गरिएको थियो

युक्रेनको प्यारालम्पिक्स टोलीले रुसको सोची रिसोर्टमा शुक्रबारदेखि शुरु हुने हिउँदे खेलमा सहभागी हुने घोषणा गरेको छ।

यसअघि सो टोलीले खेल बहिष्कार गर्नेबारे पनि विचार गरेको थियो।

तर युक्रेनको प्यारालम्पिक्स कमिटिका प्रमुख भलेरी सुस्केभिचले भने, "युक्रेनको टोलीले क्राइमियामा भैरहेका घटना र त्यहाँ रुसी सैन्य उपस्थितिबारे बाँकी विश्वलाई सम्झना दिलाउन खेलमा भाग लिने निधो गरेको हो।"

आशँका

रुस तथा युक्रेनबीच जारी तनावका कारण युक्रेनको राष्ट्रिय टोलीले सोची प्यारालम्पिक्समा भाग लिनेबारे आशँकाहरु कायमै थिए।

तर युक्रेनको प्यारालम्पिक्स कमिटिका अध्यक्ष भलेरी सुस्केभिचले प्यारालम्पिकमा आफ्नो देशको टोली सहभागी हुने पुष्टि गरे।

उनले रुसी राष्ट्रपति पुटिनलाई खेल अवधिमा युक्रेनमा शान्ति कायम राख्‍न आफुले अनुरोध गरेको पनि बताए।

तर उनले भने, स्थिति अरु बिग्रेमा उनीहरुले खेल बहिष्कार गर्न पनि सक्नेछन्।

खेल बहिष्कार नगर्ने युक्रेनको निर्णयको अन्तर्राष्ट्रिय प्यारालम्पिक्स कमिटिले स्वागत गरेको छ।

अन्तर्राष्ट्रिय प्यारालम्पिक्स कमिटिका अध्यक्ष सर फिलिप क्रयाभेनले भने, "हामी प्यारालम्पिकमा खेलकुदले नै प्राथमिकता पाओस् भन्ने चाहन्छौं।"

क्राइमियाका रुसी सैन्य गतिविधिको विरोध गर्दै कैयौं विदेशी राजनीतिज्ञ तथा अधिकारीहरुले सो खेलको उद्घाटन समारोहमा भाग लिन अस्वीकार गरीदिएका छन्।

वार्ता

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसी राष्ट्रपति भ्लादिमिर दोश्रो पटक लामो टेलिफोन वार्ता गरेका छन्।

ह्वाइट हाउसले जारी गरेको एक विज्ञप्तीका अनुसार अमेरिकी र रुसी नेताहरुबीच झण्डै एकघण्टा लामो कुराकानी भएको थियो।

टेलिफोन वार्तामा राष्ट्रपति ओबामाले युक्रेनी संकटलाई कुटनीतिक रुपमा समाधान गर्नका लागि आवश्यक ‌कदमहरु विस्तृत रुपमा प्रस्तुत गरेका थिए।

अमेरिकी अधिकारीहरुले प्रस्ताव गरेका त्यस्तो समाधानमा रुसी र युक्रेनी सरकारहरुबीच प्रत्यक्ष वार्ता हुनु पर्ने, रुसी सैनिकहरु आफ्ना अखाडामा फिर्ता हुनु पर्ने र त्यहां अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई खटाइनु पर्ने लगायतका कुराहरु रहेका बताइएको छ।

क्रेमलिनका अनुसार राष्ट्रपति पुटिनले विश्वमा शान्ति तथा सुरक्षाको वातावरण बनाइराख्‍न मस्को र वाशिंगटनबीचको सम्बन्ध एकदमै महत्वपूर्ण रहेको र वर्तमान संकटका कारण त्यस्तो सम्बन्ध प्रभावित हुन नहुने बताएका थिए।

यसअघि क्राइमियाको क्षेत्रीय संसदले रुसमा विलय गर्ने प्रस्तावलाई अत्यधिक मतले पारित गरेको थियो। सोही विषयमा आउँदो मार्च १६ तारिखमा गराइनलागेका जनमतसंग्रहमा क्राइमियाका जनताले मतदान गर्नेछन्।

तर युक्रेनको अन्तरिम सरकारले त्यस्तो कदम गैरकानुनी र देशको संविधान विपरित हुने जनाएको छ।