बेपत्ता विमानको खोजी जारी

  • 8 मार्च 2014
मलेसिया एअरलाइन्स तस्वीर कपीराइट AP
Image caption मलेसिया एअरलाइन्सको विमानमा १४ देशका २३९ जना सवार रहेको बताइएको छ

भियतनामका अधिकारीहरुले भनेका छन्, शनिबार बिहानैदेखि हराइरहेकेा मलेसिया एअरलाइन्सको विमानको खोजी गरिरहेको टोलीले देशको दक्षिणी तटपारी समुद्रमा तेल चुहिएका दुईवटा ठूल्ठूला निशानहरु देखेका छन्।

शनिबार अबेरसम्म पनि मलेसियाको राजधानी क्वालालम्पुरबाट बेइजींगतर्फ उडेको मलेसिया एअरलाइन्सको विमानको स्थिति स्पष्ट हुनसकेको थिएन।

मलेसिया तथा भियतनामको करीब करीब बीचमा रहेको समुद्रको ठूलो क्षेत्रमा खोजी कार्य केन्द्रित गरिएको छ।

मलेसियाका प्रधानमन्त्री नजीब रजाकले भने, "अमेरिकाले उसको नौसेना हाम्रो खोजी तथा उद्धार कार्यमा सघाउन पठाउन सहमति जनाएको छ। हामीले भ्याएसम्म, उक्त विमानको पछिल्लो अवस्थिति थाहा पाइएको इलाकामा खोजी कार्य गरिरहेका छौं।"

यसअघि मलेसियाको सेनाले दोश्रो पटक हेलिकोप्टर तथा पानीजहाजहरु अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा पठाइएको तर अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जनाएको थियो।

खोजी

मलेसिया, भियतनाम, चीन र फिलिपीन्सका पानी जहाज तथा विमानहरुले खोजी अभियानमा सघाइरहेका छन् भने सिंगापुरले खोजको संयोजन गरिरहेको छ।

उक्त बोइंग सेभेन सेभेन सेभेन विमानमा यात्रु र उडान कर्मचारहरुसहित २ सय ३९ जना सवार थिए।

मलेसियाका विमानसेवा अधिकारीहरुले उक्त विमानबाट संकटमा परेको भन्ने कुनै संकेत प्राप्त भएको थिएन।

मलेसियाका यातायातमन्त्रीले उक्त विमान दुर्घटनाग्रसत भएको भन्ने भियतनामबाट प्राप्त समाचार विवरणहरुको पुष्टि नभएको बताएका छन्।

सम्पर्क विच्छेद

उक्त विमानसंग क्वालालम्पुरबाट उडेको दुईघण्टा पछि नै संचार तथा रेडार सम्पर्क विच्छेद भएको थियो।

उक्त मलेसिया एअरलाइन्स् ले यात्रुहरु मध्ये १ सय ५२ जना चिनीयां नागरिकहरु भएका बताएको छ।

तस्वीर कपीराइट AFP
Image caption मलेसिया एअरलाइन्स र बोइंग ७७७ को सुरक्षा रेकर्ड राम्रो रहेको मानिन्छ

त्यसमा अरु १३ वटा विभिन्न देशका नागरिकहरु पनि सवार थिए।

उक्त विमान सेवा र विमानको पनि सुरक्षा रेकर्ड राम्रो रहेको बताइन्छ।

यदि विमान दुर्घटनाग्रस्त भएको पुष्टि भएमा, १९ बर्ष अघि संचालनमा आए यता बोइंग सेभेन सेभेन सेभेन विमान संलग्न भएको यो सबैभन्दा गम्भीर घटना हुनेछ। त्यस्तो विमानको एकमात्र अर्को दुर्घटना गत बर्ष अमेरिकाको सान फ्रान्सीस्को विमानस्थलमा भएको थियो र तीनजनाको ज्यान गएको थियो।

मलेसिया एअरलाइन्सको सबैभन्दा खराब दुर्घटना सन् १९७७ मा भएको थियो। त्यसबेला अपहरणमा परेको उक्त विमानसेवाको विमान दुर्घटनाग्रस्त हुंदा झण्डै एकसय जनाको ज्यान गएको थियो।