साझा सहमतिको कार्यक्रम ल्याउने तयारी

  • 10 मार्च 2014
Image caption गठबन्धन सरकार बनेको एक महिना हुनै लाग्दा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले दुइ दलबीचको न्यूनतम सहमतिको साझा कार्यक्रम सकेसम्म मंगलबार सार्वजनिक गर्ने तयारी गरेको एकजना नेताले बताएका छन्।

साझा कार्यक्रममा संविधान निर्माण, शान्ति प्रक्रिया र विकासका कामलाई केन्द्रमा राखिएको साझा कार्यक्रम बनाउन गठित कार्यदलका एक सदस्य तथा एमाले नेता शंकर पोखरेलले बताए।

एक सातामा साझा कार्यक्रम ल्याउने भनिएको भएपनि सरकार बनेको एकमहिना पुग्नै लागेको छ भने संयुक्त मन्त्रिपरिषद बनेको झण्डै दुई साता बितीसकेको छ।

कांग्रेस एमालेको संयुक्त कार्यदलले दुइ दिनअघि नै साझा न्यूनतम कार्यक्रम तयार पारेर आ आफ्ना दलका शीर्ष नेतालाई बुझाएको बताइन्छ।

केन्द्रबिन्दु

एमाले सचिव शंकर पोखरेलले संविधान निर्माणलाई मुख्य केन्द्रबिन्दु बनाइएको बताए।

उनले भने, "संविधानसभा भित्र र बाहिरका दललाई संविधान निर्माण कार्यमा संलग्न गराउन वार्ता र सहमतिको प्रयास गरिनेछ।"

सत्य निरुपण तथा मेलमिलाप आयोग एवम् वबेपत्ता छानबीन आयोगको गठनलाई प्राथमिकतामा राखिएको र विकासका काममा राष्ट्रिय प्राथमिकता प्राप्त योजनालाई अर्को केन्द्रबिन्दु बनाइएको नेता पोखरेलले बताए।

पोखरेलका अनुसार माथिल्लो तामाकोशी, अरु जलिवद्युत आयोजना, हुलाकी मार्ग, रेल मार्ग, बाग्मती, लुम्बिनी र जनकपुरको बृहत्तर विकासलाई उच्च प्राथमिकता प्राप्त योजनामा राखिएको छ।

नीति र कार्यक्रम सँधै राम्रो भएपनि कार्यान्वयन फितलो हुने गरेको भन्दै नेता पोखरेलले यसपटक कार्यान्वयन पक्षमाथि विशेष ध्यान दिइएको पनि बताए।

तयारी

सरकार बनेको एक सातामै साझा कार्यक्रम तय गर्ने लिखित सहमति दुई दलले सात बुँदेमा गरेको भएपनि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला चयन भएको एक महिना बितीसकेको छ भने संयुक्त मन्त्रिपरिषद बनेको झण्डै दुई साता बितीसकेको छ।

सोमबार बिहान सन्चारकर्मीहरुसँग सरकारका प्रवक्ता एवम् सूचना तथा सन्चार मन्त्री मिनेन्द्र रिजालले सकेसम्म मंगलबार नै साझा कार्यक्रम ल्याउने तयारी भइरहेको बताएका थिए।

बजार व्यवस्थापन प्रभावकारी बनाउने, कर्मचारी तन्त्रमा राजनीतिक हस्तक्षेप नगर्ने, पिछडिएका क्षेत्र र समुदायको उत्थानका काम गर्ने र शान्ति सुव्यवस्था कायम गर्ने जस्ता जसको सरकार बनेपनि उल्लेख हुने परम्परागत ढर्राका बुँदाहरुपनि साझा कार्यक्रममा राखिएको बताइएको छ।