‘विमानको भग्नावशेष जस्तो बस्तु फेला पर्यो’

  • 10 मार्च 2014
प्रार्थना तस्वीर कपीराइट AP
Image caption हराइ रहेको विमानमा चालक दल सहित २३९ व्यक्ती सवार थिए

मलेसियाबाट चीनतर्फको उडानका क्रममा हराइरहेको विमानको खोजी कार्य दक्षिण चिनियाँ सागरमा केन्द्रित रहेको छ।

एक भियतनामी विमानले दक्षिण चीनियाँ सागरमा सो विमानको जस्तो देखिने बस्तु फेला पारेको बताइएपनि त्यो बस्तु सोही विमानकै हो भन्ने यकिन हुन सकेको छैन।

सो विमानमा चालक दल सहित २३९ व्यक्ती सवार थिए।

जोडतोड

क्लालम्पुरबाट बेइजिङतर्फको उडानका क्रममा हराइरहेको विमानको खोजी कार्यमा भियतनामको समुद्रतटदेखि दक्षिणतिर दर्जनौ पानीजहाज र विमानहरु खटिएका छन्।

बीबीसीका जनाथन हेडका अनुसार त्यस क्षेत्रमा ४० भन्दा बढी पानीजहाज र ३४ वटा विमानहरु खोजी कार्यमा लागेका छन्।

“४० वटा पानी जहाज र ३४ वटा जति विमानहरु खोजी कार्यमा लागेका छन्, ती सबै विमान खसेको हुन सक्ने ठानिएको दक्षिण चीनियाँ सागर वरपर छन्।”

मलेसियन एअरलाइन्सको फ्लाइट एमएच-३७० विमान हराउनुको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन्।

पछिल्लो अनुसन्धान सो विमानमा चोरिको पासपोर्ट लिएर यात्रा गरिरहेका ठानिएका दुई यात्रुमा केन्द्रित रहेको बताइएको छ।

इटली र अस्ट्रियाका ती राहदानी थाइल्याण्डमा चोरिएका थिए।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले चांही पासपोर्ट चोरी र विमान हराएको विषयबीच अहिले नै सीधा सम्वन्ध स्थापित गर्ने बेला भइ नसकेको बताएको छ।