रुस समर्थक फौज क्राइमियामा नियन्त्रण जमाउँदै

  • 11 मार्च 2014
तस्वीर कपीराइट Reuters
Image caption नेटोले युक्रेनको अवस्थाको जानकारी लिन विशेष अवलोकन विमानहरु पठाउँदैछ

रुस समर्थक फौजहरुले क्राइमियास्थित सैन्य अस्पताललाई नियन्त्रणमा लिएका छ्न्।

युक्रेनको संकटबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा फेरि छलफल भएको छ।

रुस समर्थक फौजहरुले युक्रेनको क्राइमिया प्रायदीपमा आफ्नो नियन्त्रण विस्तार गर्ने क्रममा त्याहाँ निकै कम प्रतिकारको सामाना गरेका छन्।

विशेष अवलोकन

सेनाको पोशाक लगाएका ३० जनाले क्राइमियाको प्रशासनिक राजधानी सिम्फेरोपोलमा सैनिक अस्पताललाई नियन्त्रणमा लिएको बताएको छ।

क्राइमिया प्रायद्वीपको उत्तरी प्रवेश विन्दुहरु पनि रुसी नियन्त्रणमा छन्।

उत्तर एटलान्टिक सन्धी संगठन नेटोले युक्रेनको अवस्थाको जानकारी लिन नेटोका पूर्वी सीमाहरुमाथि मंगलबार जर्मनी र ब्रिटेनस्थित नेटो शिविरहरुबाट विशेष अवलोकन विमानहरु पठाउँदैछ।

युक्रेनको संकटबारे छलफल गर्न बसेको राष्ट्रसंघीय सुरक्षा परिषदको वैठकमा बोल्दै राष्ट्रसंघका लागि ब्रिटिश राजदूत मार्क ल्याल ग्रान्टले क्राइमिया रुसमा समाहित हुने वा नहुने भन्ने निर्क्यौल गर्न आइतबारका लागि प्रस्तावित जनमत संग्रह स्वतन्त्र र निष्पक्ष नहुने बताए।

उनले भने, "१६ मार्चमा हुने कुनै पनि मतदानले क्राइमियाका जनता वा युक्रेनका जनताको वैध इच्छा आकांक्षालाई प्रतिबिम्बित गर्दछ भनि मान्न सकिंदैन।"

उनले रुसको मित्र शक्ती चीन लगायत प्राय सबै सुरक्षा परिषदका सदस्य राष्ट्रहरुले युक्रेनको सीमा र त्यस्को अखण्डताको महत्वलाई सम्मान गर्नु पर्नेमा जोड दिइरहेको बताए।