चोरीको राहदानी आतंकवादसंग असम्बन्धीत

  • 11 मार्च 2014
तस्वीर कपीराइट AP
Image caption विमानको खोजी सशक्त बनाइए पनि हराउनुको रहस्य खुल्न सकेको छैन

शनिबारदेखि हराइरहेको विमानमा चोरीको राहदानी प्रयोग गरेका भनिएका दुइ नागरिकको विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल र मलेसियाका अधिकारीहरुले सार्बजनिक गरेका छन्।

इन्टरपोलका अनुसार ती दुबै व्यक्तिहरु इरानका हुन् ।

विवरण हेर्दा उनीहरुको आतंकवादी संस्थासँग कुनै सम्बन्ध नदेखिएको त्यहाँका अधिकारीले बताएका छन्।

उनीहरुसहित २ सय ३९ व्यक्ति रहेको विमानको खोजी कार्यलाई सशक्त बनाइएको बताइएको छ।

आशंका

ती दुइ व्यक्तिले मलेसियाबाट चोरीको राहदानी प्रयोग गर्नुभन्दा अघि इरानको वैधानिक राहदानी प्रयोग गरेर दोहा हुँदै मलेसियाको राजधानी क्वालालम्पुर पुगेका थिए।

इन्टरपोलका महासचिव रोनाल्ड नोबलले उनीहरुको यो पछिल्लो विवरणले विमान हराउनु आतंकवादी घटना भन्ने आशंका फितलो भएको बताएका छन्।

अधिकारीहरुका अनुसार ती दुबै व्यक्तिको आतंकवादी समूहसँग कुनै स्पष्ट सम्बन्ध देखिएको छैन।

दुइ मध्य १ जना १८ वर्षीय पुरिया नुर मोहम्मद मेहरदाद हुन् जो सायद जर्मनीमा बसाइ सर्न खोजिरहेको देखिएको प्रहरीले जनाएको छ।

त्यस्तै चोरीको राहदानी प्रयोग गर्ने अर्का व्यक्ति २९ वर्षीया दिलावर सैयद मोहमद रेजा हुन्।

विज्ञहरुले चोरीको राहदानीबाट यात्रा गर्नुले सुरक्षा स्थिति कमजोर भएको देखाएको छ।

उनीहरुका अनुसार गैरकानूनी बसाइसराइ गर्ने धेरैले चोरीको राहदानी तुलनात्मक धेरै प्रयोग गर्छन्।

रहस्य

२ सय ३९ यात्रु लिएर उडानमा गएको मलेसियन एयरलायन्स फ्लाइट शनिबारदेखि वेपत्ता भएको छ। अन्तराष्ट्रिय रुपमै खोजी कार्यलाई तीब्र बनाइए पनि चारदिनसम्म पनि विमान वेपत्ता हुनुको कुनै रहस्य खुलिसकेको छैन।

अधिकारीहरुले अझै पनि के भएर विमान हराइरहेको पत्ता लाग्न नसकेको बताएका छन्।

तर अनुसन्धान विशेषगरी आक्रमण, तोडफोड, व्यक्तिगत र मनोबैज्ञानिक कारणले भएको हुनसक्ने विषयमा केन्द्रीत भएको बताइएको छ।

विमानमा दुइ तिहाइ भन्दा बढी व्यक्तिहरु चीनका छन् भने बाकिँ एसिया, उत्तर अमेरिका र युरोपका छन्।

विमानबारे केही जानकारी नआउँदा आफन्तहरुले निराशा व्यक्त गरेका छन्।

नौ देशको सहयोगमा भइरहेको खोजी विमान हराएको क्षेत्रबाट १०० समुद्री कोष टाढासम्म फैलाइएको छ।