सिआइएमाथि सिनेटको जासुसी गरेको आरोप

  • 12 मार्च 2014
सिनेटर डाइआन फाइनस्टाइन तस्वीर कपीराइट AP
Image caption सिनेटर फाइनस्टाइनले सिआइएले कंग्रेस कर्मचारीहरु विरुद्ध जासुसी गरेको आरोप लगाएकी छिन्

संयुक्त राज्य अमेरिकाको एउटा शक्तिशाली सिनेट कमिटीकी अध्यक्षले देशको प्रमुख गुप्तचर निकाय सिआइएले, कंग्रेसका कर्मचारीहरुको कम्प्युटरमा गुप्त तरिकाले प्रवेश गरी जासुसी गरेको आरोप लगाएकी छिन्।

सिनेटर डाइआन फाइनस्टाइनको दाबी छ, उक्त अमेरिकी गुप्तचर निकायले कंग्रेसका केहि कर्मचारीहरुको कामलाई आफ्नो निगरानीमा राखेको छ।

उनले यो विषयलाई कानून मन्त्रालयमा पठाएकी छिन्, तर सिआइएका निर्देशक जन ब्रेननले भने उनको त्यस्तो आरोपलाई सत्यभन्दा निकै टाढा रहेको भनी टिप्पणी गरेका छन्।

‌उजागर

सिनेटमा एउटा विस्फोटक टिप्पणी गर्दै सिनेटको गुप्तचर कमिटीकी प्रमुखले अब कंग्रेस र उक्त अमेरिकी गुप्तचर निकायबीचको सार्वजनिक मतभेदलाई उजागर गरेकी थिइन्।

उनको कमिटिले हाल बुश प्रशासनका बेला सिआइएले यातना दिने गरेको भन्ने आरोपको छानविन गर्दैछ।

र अनुन्धानका क्रममा कंग्रेसका कर्मचारीहरुलाई, सिआइएका गोप्य दस्तावेजहरुको लाखौं पेजहरु भएका कम्प्युटरहरुमा काम गर्न दिइएको थियो।

कंग्रेसका कर्मचारीहरुले गर्न लागेका त्यस्तो काममा सिआइए ले अवरोध पुर्याउन खोजेको उनको आरोप थियो।

उक्त जासुसी निकायले विना अनुमति दुई दुई पटक ति दस्तावेज र कम्प्युटरहरुमा प्रवेश गरेको र कसैलाई थाहा नदिइकन त्यहांबाट सयौं गोप्य दस्तावेजहरु हटाएको दावी सिनेटर फाइनस्टाइनले गरेकी छिन्।

ति सिनेटरका अनुसार, सीआइएको त्यस्तो कार्यबाट संयुक्त राज्य अमेरिकाको संविधानको उलंघन भएको छ।

प्रतिक्रिया

उनले यो विषयमा उजुरी गरेको र त्यसप्रति कुनै प्रतिक्रिया प्राप्त नभएको पनि बताएकी छिन्।

तर सीआइएका निर्देशक जन ब्रेननले उनको संस्थाले ‌सिनेटको कमिटी र सीनेट विरुद्ध जासुसी नगरेको र कुनै पनि अनुसन्धानमा अवरोध उत्पन्न गर्ने कार्य नगरेको बताएका छन्। सिआइएका निर्देशक, जन ब्रेननले भने,“सिनेटका कम्प्युटरहरुमा सिआइएले ह्याक गरेको भन्ने जुन आरोप छ, त्यो सत्यसंग नजीक छैन। हामीले त्यसो कहिल्यै गर्दैनौं। हामीले गर्ने कामका कुनै पनि दायरामा त्यो पर्दैन।“

सम्बाददाताहरु भन्छन्, सीआइए र सिनेटरहरु बीच केही बर्ष अघि देखि नै विवाद रहंदै आएको छ र त्यो मंगलबार सिनेटर फाइनस्टाइनको टिप्पणी पछि सार्वजनिक रुपमा छताछुल्ल हुन पुगेको हो।