‘एमाओवादी स्थानीय चुनावमा सहभागी हुने’

  • 12 मार्च 2014
तस्वीर कपीराइट .
Image caption एकीकृत माओवादीको सहभागिता विना स्थानीय निकायको निर्वाचन गराउन सरकारलाई कठिन हुने देखिन्छ

एकीकृत नेकपा माओवादीका एक जना वरिष्ठ नेताले आफ्नो पार्टी स्थानीय निकायको निर्वाचनको विपक्षमा नजाने बताएका छन्।

तर उनले जेठभित्र निर्वाचन गराउने भए दलहरुले एक वर्षभित्र नयाँ संविधान जारी गर्ने कार्यतालिका ल्याउनुपर्ने बताए।

सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले स्थानीय निर्वाचनको विषय उठान गरेर संविधान निर्माण प्रक्रियाबाट ध्यान अन्तै मोड्न खोजेको एकीकृत माओवादीका नेताहरुले अभिव्यक्ति दिँदै आएका छन्।

उनीहरुले अहिलेको प्राथमिक एजेण्डा स्थानीय निकायको निर्वाचन नभई एक वर्षभित्र संविधान जारी गर्ने भएको बताउने गरेका छन्।

सहभागी

यद्यपि एकीकृत माओवादीका वरिष्ठ नेता पोष्टबहादुर बोगटी स्थानीय निर्वाचन हुने भए आफूहरुले बहिष्कार नगर्ने बताए।

बोगटीले भने, ‘’हामी एउटा प्रक्रियामा आइसकेकाले निर्वाचन बहिष्कार गर्ने कुरा हुँदैन, सहभागी हुन्छौं।‘’

दोस्रो संविधानसभाको निर्वाचनमा अनपेक्षित परिणाम भोगेपछि एकीकृत माओवादी स्थानीय निकायको निर्वाचनबाट भाग्न खोजेको आरोपको बोगटीले खण्डन गरे।

उनले एक वर्षभित्र संविधान जारी हुने वा नहुनेमा मात्र आफूहरु सशंकित रहेको बताए।

कार्यतालिका

बोगटीले संविधान निर्माण प्रक्रिया ओझेलमा पर्न सक्ने भएकाले स्थानीय निकायको निर्वाचन गर्ने भए एक वर्षभित्र संविधान जारी गर्ने कार्यतालिकामा सहमति हुनुपर्ने जनाए।

उनले भने, ‘’पहिलो कुरा एक वर्षभित्र संविधान जारी गर्ने कार्यतालिका सहितको सहमति हुनुप-यो र दोस्रो कुरा निर्वाचन र संविधान निर्माणलाई कसरी समानान्तर रुपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा सहमति हुनुपर्छ।‘’

खास गरी संविधानसभाको चुनावपछिको समयमा नयाँ संविधान नबनाई स्थानीय निकायको निर्वाचन हुन नहुनेमा जोड दिँदै आएको एकीकृत माओवादीका एक नेताबाट आएको पछिल्लो अभिव्यक्तिलाई उनीहरुको अडानमा परिवर्तन आउन लागेको सँकेतकोरुपमा कतिपयले हेरेका छन्।