'संविधान लेखन चैत दोश्रो हप्ताबाट'

  • 13 मार्च 2014
संविधानसभा भवन तस्वीर कपीराइट Surendra Phuyal
Image caption संविधानसभाको कार्यकाल चार वर्ष भए पनि एक वर्षमै संविधान जारी गर्ने दलहरुको प्रतिवद्धता छ

लामो वहसपछि तयार गरिएको संविधानसभा नियमावलीको मस्यौदा संविधानसभाको विहिवार हुने बैठकमा पेश गरिने मस्यौदा समितिले जनाएको छ।

उक्त नियमावली पारित भएपछि त्यसका प्रावधान अनुसार बन्ने विभिन्न समितिहरु मार्फत चैत दोस्रो साताबाट संविधान लेख्ने काम शुरु गर्न सकिने संविधानसभा सचिवालयका अधिकारीले जनाएका छन्।

नियमावली मस्यौदामा प्रस्तावित पाँच समिति मध्ये पहिला काम सुरु गर्ने तीनवटा विषयगत समितिमा ७३ र बाँकी दुई प्रकृयागत समितिमा १९१ सभासद रहने व्यवस्था छ।

छलफल

नियमावली मस्यौदामाथि एक दिन संविधानसभामै सैद्धान्तिक छलफल गरिनेछ।

त्यो मस्यौदामा संशोधन गर्नुपर्ने आवश्यकता भए प्रत्येक सभासद्हरुलाई दुइ दिनको समय दिएर संशोधनका लागि आब्हान गर्ने प्रकृया छ।

त्यसरी छलफलबाट टुंगो लागेपछि त्यसलाई संविधानसभाले पारित गर्नेछ।

संविधानसभा सचिवालयका कानुनी सल्लाहकार रबि शर्मा अर्याल भन्छन्, "त्यो नियमावली चैतको ५-६ गतेसम्ममा पारित भइसकेपछि १० गते सम्ममा समितिहरु गठन हुन्छन् र तीनले आ-आफ्नो जिम्मेवारी अनुसार संविधान लेखनको काम शुरु गर्न सक्छन्।"

सहमतिको अध्ययन

नियमावली अनुसार बनेका समितिहरु मध्ये पहिला संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिले विगतको सहमतिको अध्ययन गरि प्रकृया अघि बढाउने छ।

शर्माको भनाई छ, "उक्त समितिले अध्ययनको निश्कर्ष पेश गरेपछि संविधानसभाले सहमति भएका विषय मस्यौदा समितिमा पठाउँछ र मस्यौदा समितिले खाका बताउँछ, सहमति नभएका विषयमा संवैधानिक-राजनीति संवाद समितिले संविधानसभाभित्र र बाहिरका पार्टीहरुसँग छलफल गर्छ।"

यसरी तीनवटा समितिको सहकार्यबाट संविधानको पहिलो मस्यौदा बनेपछि नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको काम शुरु हुने बताइएको छ।

पहिलो संविधानसभाको नियमावलीले थुप्रै विषयगत समिति गठन गरेको भए पनि यसपटक १ वर्षभित्रै संविधान जारी गर्ने दलहरुको प्रतिवद्धता अनुसार थोरै समिति बनाइएको छ।