स्थानीय चुनाव नगर्न दुई माओवादीको धम्की

  • 13 मार्च 2014
Image caption स्थानीय चुनावको विपक्षमा दुई माओवादी एक ठाउँमा उभिनुलाई महत्वका साथ हेरिएको छ

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले नयाँ संविधान जारी नहुञ्जेल स्थानीय निकायको चुनाव नगराउन चेतावनी दिएका छन्।

उनीहरुले जेठ मसान्तभित्र स्थानीय चुनाव गराइए संयुक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन्।

प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यको हस्ताक्षरसहितको संयुक्त वक्तव्यमा जेठ महिनामा स्थानीय निकायको निर्वाचन गर्न खोज्नुले नयाँ संविधान निर्माण नगरिने त होइन भन्ने गम्भीर प्रश्न उब्जाएको उल्लेख छ।

चेतावनी

पार्टी फुटेको करीब २१ महिनापछि पहिलो पटक बिहीबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले संविधान निर्माणलाई प्राथमिकता दिई सो नहुँदासम्म स्थानीय निकायको निर्वाचन नगरियोस् भनी सम्बद्ध पक्षसँग जोडदार आग्रह गर्दछौं भनेका छन्।

स्थानीय निकायको चुनाव गराइए त्यसमा शीर्ष नेताहरुको पनि संलग्नता हुने र त्यसले संविधान निर्माण प्रक्रियालाई अवरुद्ध पार्ने एकीकृत माओवादीका नेता हरिबोल गजुरेलले बताए।

उनले भने, ‘’स्थानीय चुनावमा शीर्ष नेताहरु पनि सहभागी हुने भएकाले त्यसले संविधान निर्माणमा अवरोध श्रृजना गर्नेछ।‘’

शंका

एकीकृत माओवादी र नेकपा-माओवादीका नेताहरुले जेठभित्र स्थानीय निकायको निर्वाचन गराउने सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको अभिव्यक्तिले संघीयताप्रति उनीहरुको प्रतिबद्धतामाथि शंका उब्जाएको उनीहरुको भनाइ छ।

नयाँ संविधानले सम्बन्धित निकायको व्याख्या गर्नुअघि नै त्यसको निर्वाचन गराउनु गलत हुने नेकपा-माओवादीका सचिव सिपि गजुरेलले बताए।

दोस्रो संविधानसभाको निर्वाचन जस्तै स्थानीय निकायको चुनाव पनि पेलेरै गराइए त्यसको प्रतिवाद गर्ने उनले चेतावनी दिए।

गजुरेलले भने, ‘’फेरि पनि जबरजस्ती लाद्न खोजियो भने त त्यसको विरोध सशक्त हुन्छ जस्तो लाग्छ।‘’

काठमाण्डूस्थित हाम्रा संवाददाता भन्छन्, संविधान जारी नभएसम्म स्थानीय निकायको चुनाव गराउन नहुने पक्षमा प्रमुख प्रतिपक्षी एकीकृत माओवादी र संविधानसभा बाहिर रहेको नेकपा-माओवादी उभिएपछि जेठ मसान्तभित्र चुनाव गराउने बताउँदै आएका सत्तारुढ दलहरुमाथि चुनौती थपिएको छ।