विश्वकपमा जित्ने नेपाली टोलीको आशा

  • 15 मार्च 2014
Image caption नेपालको विश्वकप यात्राका लागि यो खेललाई महत्वका साथ हेरिएको छ

पहिलोपटक विश्वकप क्रिकेटमा सहभागी हुन बंगलादेशमा रहेको नेपाली टोलीले जित्ने आत्मविश्वास व्यक्त गरेको छ।

नेपाली टोलीका कप्तान पारस खड्काले शनिबार अभ्यास खेलमा जानुअघि त्यस्तो विश्वास व्यक्त गरेका हुन्।

बंगलादेशको शहर चिटगंगस्थित जहोर अहमद चौधरी रंगशालामा शनिबार नेपाल र हङ्गकङ्गले एकै ठाउँमा अभ्यास गरेका थिए।

पहिलोपटक विश्वकपमा खेल्न लागेका दुबै टोलीको उद्देश्य आफ्नो पहिलो सहभागितालाई ऐतिहासिक बनाउने थियो।

चार महिना अघि प्ले अफमा हङ्गकङ्गलाई पराजित गरेर नेपाल विश्वकपमा छानिएको थियो।

सुरुवात

आइतबार हङ्गकङ्ग विरुद्धको खेलबाटै नेपालले विश्वकपको सुरुवात गर्दैछ।

यसबीचको चार महिनामा नेपाल र हङ्गकङ्गको क्रिकेट परिदृश्य निकै फेरिइसकिएको छ।

बीस ओभर पछि खेलिएको एक दिवसीय विश्वकप छनोटमा नेपाल हङ्गकङ्गसँग दश विकेटले पराजित भएको थियो

ढाकामा खेलिएको दुईवटा अभ्यास खेलमा हङ्गकङ्गले जिम्बाब्वे र नेदरल्याण्ड्सलाई हराएर मनोबल उच्च बनाएको छ।

नेपाल भने युएइ र आयरल्याण्ड्स दुबैसँग पराजित भएको छ।

तर मुख्य खेल र त्यसको लागि चाहिने मनोबल नेपाली टोलीसँग रहेको नेपाली कप्तान पारस खड्काले अभ्यासमा जानु अघिको पत्रकार सम्मेलनमा बताए।

प्रदर्शन

उनले भने, ‘बीस ओभरको खेलमा जुन दिन खेल हुन्छ त्यही दिन प्रदर्शन राम्रो गर्नुपर्छ। हामी राम्रो खेल्नेछौं।‘

दश वर्ष अघि यही मैदानमा कप्तान पारस खड्कासहितको १९ वर्ष मुनिको टोलीले खेलेको थियो।

सोही खेलका चार खेलाडी अहिलेको नेपाली टोलीमा छन्।

तर अहिले पीचको स्वरुप पूरै बदलिसकेको खड्काले बताए।

संभवत: घाँसे पीचमा स्पीनरलाई मद्दत पुग्ने अनुमान गरिएको छ।

खड्काले भने ‘आजको परीक्षण खेलमा पीच हेरेपछि हामी कसले के गर्ने निर्णय गर्नेछौं।‘

जहुर अहमद चौधरी रँगशालाको फ्लडलाइटमा आइतबार खेलिने खेल मैदान र मौसमको हिसाबले दुबै टोलीका लागि समान हुनेछ।

तर चिटगँगमा रहेका हाम्रा खेल संवाददाताका अनुसार नेपाल एउटा पक्षमा भने हङ्गकङ्गभन्दा माथि हुनसक्छ।

त्यो भनेको बंगलादेशमा रहेका सैयौं नेपाली समर्थकहरुको साथ हो।

बंगलादेशमा अध्ययनरत दुई हजार भन्दा बढी नेपाली विद्यार्थीहरुमध्यै कैयौं खेल हेर्न आउने अनुमान गरिएको छ।