क्राइमियाको जनमत संग्रहमा मतदान

  • 16 मार्च 2014
तस्वीर कपीराइट Reuters
Image caption युक्रेनको जनमत संग्रहमा करिब १५ लाख मानिसलाई मताधिकार प्राप्त छ

रुसमा गाभिने वा बढी स्वायत्ता सहित युक्रेनमैं रहने भन्ने बिषयमा क्राइमियाको जनमत संग्रहमा मतदान भैरहेछ।

मस्कोले सो जनमतको समर्थन गरे पनि किएभ र पश्चीमले गैह्र कानुनी भन्दै त्यसको भर्त्सना गरेका छन्।

संवाददाताहरुको भनाईमा रुस र क्राइमियाका झण्डाहरु फहराउँदै एउटा उत्सवको वातावरणमा मतदान भैरहेको छ।

युक्रेनका मस्को समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताच्युत गरिए यता बहुसंख्यक रुसी जातीहरु रहेको क्राइमियामा रुसी सैनिकहरुकै नियन्त्रण रहेको छ भने जस्तो अवस्था देखिन्छ।

मतदान बहिष्कार

मतदाताहरुले युक्रेन छोड्ने पक्षमा मतदान गर्ने अपेक्षा रहे पनि क्राइमियाका टाटारहरुले मतदान बहिष्कार गरेका छन्।

करिब १२ प्रतिशत जनसंख्या रहेको टाटारका नेता रेफात चुबारोभले भने, टाटारहरु, उनकै भनाईमा, यो सर्कसमा भाग लिन चाहँदैनन्।

उनले भने, "हामी क्राइमियन टाटारहरुले कुनै पनि सर्कसमा भाग लिएका छैनौं। सर्कसमा भाग लिन चाहनेहरुले लिए हुन्छ।"

मतदान केन्द्रहरुमा मानिसहरुको लाम लागेको थियो।

निर्वाचन अधिकृत मिखाइलो मालेशेभले बताए अनुसार ६ घण्टामैं ४४.२७% मतदाताहरुले मतदान गरेका थिए।

यो जनमतमा करिब १५ लाख मानिसलाई मताधिकार प्राप्त छ।

त्यस क्षेत्रमा ५८.५% रुसी जातीहरु भएकाले उनीहरुले रुसमैं सामेल हुन मतदान गर्ने अनुमान छ।

रुसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले मस्कोले क्राइमियाका जनताको चाहनाको सम्मान गर्ने कुरा बताएका छन्।