क्राइमियामा जनमत संग्रह अघि उच्च तनाव

  • 16 मार्च 2014
क्राइमियामा जनमत संग्रह तस्वीर कपीराइट AP
Image caption क्राइमियाको जनमत संग्रहलाई युक्रेन र पश्चिमा देशहरुले गैरकानूनी भनेका छन्

युक्रेनको क्राइमिया क्षेत्रमा रुसमा विलय हुने की नहुने भन्ने विषयमा हुन लागेको जनमत संग्रह अघि, रुस समर्थक सशस्त्र सैन्यको ठूलो उपस्थितीका माझ तनावको स्थिती उच्च रहेको छ।

युक्रेन र उस्का पश्चिमा साझेदार देशहरु उक्त जनमत संग्रह गैरकानूनी रहेको ठान्दछन्।

मतदानका लागि क्राइमियाका बीस लाख जनताका सामु उपलब्ध विकल्पहरुमा, रुसमा विलय हुने की युक्रेनभित्रै अझ बढी स्वायत्ताका साथ रहने भन्ने छन्।

असहज

क्षेत्रिय राजधानी सिमफेरोपोलबाट हाम्रा सम्बाददाता जेम्स रेनोल्ड्स भन्छन् त्यहां स्थिती असहज छ।

शनिवार युक्रेनले रुसलाई क्राइमियाको उत्तरमा रहेको युक्रेनी क्षेत्रमा सैनिक अतिक्रमण गरेको अरोप लगाएको थियो।

तर बीबीसीले त्यहां भैरहेको घटनाक्रमको स्वतन्त्र रुपमा पुष्टि गर्न सकेको छैन।

क्राइमियामा नै भने रुसले बलियो सैनिक नियन्त्रण कायम गरेको छ।

त्यहांका रुसी भाषी बासिन्दाहरु आफ्नो छिमेकी देशको त्यस्तो कदमको स्वागत नै गर्दछन्।

क्राइमियामा जता हेरे पनि रुसमा विलय हुने पक्षमा मतदान गर्न आह्वान गरिएका पोस्टरहरु देख्‍न सकिन्छ।

यो यस्तो निर्वाचन हो जस्को नतिजा कुनै रहस्यको विषय बनेको छैन। मतदाताका सामू हुन्न भन्ने विकल्प छैन।

अर्थात अहिलेको जे जस्तो अवस्था छ त्यो कायमै रहनु पर्छ भन्नेमा जनमत संग्रह हुने छैन।

त्यसैले क्राइमिया युक्रेनकै भागका रुपमा रहनु पर्छ भन्नेहरुले आफूहरुका निम्ती मतदानको कुनै अर्थ नरहेको बताएका छन्।

तस्वीर कपीराइट AP AFP
Image caption मस्कोमा क्राइमियामा रुसी संलग्नताको पक्ष र विपक्षमा र्यालीहरु निकालीएका थिए

आरोप

रुसले आफ्नो क्षेत्रमा सैनिक अतिक्रमण गरेको भन्ने युक्रेनको पछिल्लो आरोपप्रति रुसी प्रतिक्रिया आइसकेको छैन।

तर मस्कोमा भने दशौं हजार मानिसहरुले युक्रेनमा रुसले गरेको अतिक्रमणको पक्ष र विपक्षमा र्यालीहरु निकालेका छन्।

क्रेमलिनको गतिविधिप्रति विरोध जनाउंदै आयोजीत ठूलो र्यालीमा झण्डै पचास हजारजना सहभागी देखिन्थे र अधिकारीहरुले सरकारविरोधी र्याली गर्न हाल दुर्लभ बन्दै गएको अनुमति दिएका थिए।

त्यस्तो र्यालीको केहि किलोमिटर टाढा, क्रेमलिन नजीकै अर्को भिन्नै र्याली आयोजीत थियो।

त्यसका सहभागीहरुले दोस्रो विश्व युद्धको अन्त्यमा आयोजीत विजय जुलुसहरुमा बोकिएको जस्तो झण्डाहरु बोकेका थिए र रुसले युक्रेनमा गरेको अतिक्रमणको समर्थन गरिरहेका थिए।