यूक्रेनबाट अलग्गिने क्राइमियाली सँसदको घोषणा

  • 17 मार्च 2014
सेभ्यास्तोपोलमा उत्सव तस्वीर कपीराइट AFP
Image caption रुससँग विलय हुनेमा सेभ्यास्तोपोलमा उत्सव गरिएको छ

यूक्रेनबाट अलग्गिने औपचारिक घोषणा गर्दै क्राइमियाको सँसदले अब उप्रान्त आफ्नो क्षेत्रमा यूक्रेनको कानुन लागु नहुने र सबै यूक्रेनी सम्पत्ति राष्ट्रियकरण गरिने घोषणा गरेको छ।

आईतबार भएको विवादास्पद जनमत सँग्रहका दौरान क्राइमिया यूक्रेनबाट अलग रहने पक्षमा भारी मत परेको त्यहाँका अधिकारीहरुले बताएका छन्।

फेब्रुअरी २२ तारीख यूक्रेनका मस्को निकट राष्ट्रपति भिक्टर यानुकोभिचलाई अपदस्थ गरिएपछि झ्याँगिएको युक्रेनको सँकटका माझ रुसले क्राइमिया प्रायद्विपलाई आफ्नो नियन्त्रणमा राखेको थियो।

आईतबारको जनमत सँग्रहलाई रुसी सरकारले स्वाभाविक भन्दै स्वागत गरेको छ भने अमेरिका लगायत पश्चिमा मुलुकहरुले त्यसलाई अवैध बताएका छन्।

यूक्रेनको सरकारले सो निर्वाचन परिणाम आफुलाई मान्य नभएको जनाएको छ।

कारवाही

यूरोपेली यूनियनका विदेश मन्त्रीहरुले रुस तथा यूक्रेनका २१ जना अधिकारीहरुमाथि यात्रा तथा सम्पत्ति प्रतिबन्धजस्ता कारबाही गर्ने निर्णय गरेका छन्।

अमेरिकि राष्ट्रपति बराक ओबामाले पनि ११ अधिकारीको सम्पत्ति रोक्का गर्ने घोषणा गरेका छन्।

अमेरिका र यूरोपेली युनियनले मस्को माथि आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएका थिए।

रुसमाथि कारवाही स्वरुप चालिने कदमहरुमाथि छलफल गर्न यूरोपेली युनियनका सदस्य राष्ट्रहरुका विदेशमन्त्रीहरु ब्रसेल्समा भेला हुनु अगाडि त्यस्ता सम्भावित कदमहरुबारे ब्रिटेनका विदेश मन्त्री विलियम हेगले केही बताएका थिए।

“केही आर्थिक प्रतिबन्ध अनि केही व्यक्तिहरुमाथि यात्रा प्रतिबन्ध तथा सम्पत्ति रोक्का जस्ता निर्णयहरु भेलाले लिने छ भन्ने मलाई लाग्छ। त्यसपछि के गर्ने भन्ने विषयमा चाहीँ यस मतदानप्रति रुसले देखाउने प्रतिक्रिया र यो सँकट अझ कत्ति बढ्दै जान्छ भन्ने कुरामा निर्भर हुनेछ,” हेगको भनाई थियो।

रुसी विदेश मन्त्रालयले चाहीँ यूरोपेलि यूनियन तथा अमेरिकालाई आफ्नो भविष्य निर्धारण गर्न पाउने क्राइमियाको अधिकारको सम्मान गर्न आग्रह गरेको छ।

क्राइमियाको सँसदले सोमबार गरेको निर्णय बमोजिम अब सो प्रायद्विपले रुसी मुद्रा रुबललाई उपयोगमा ल्याउनेछ भने मार्चको अन्तसम्ममा उसले आफ्नो समयपनि मस्कोसँग मिल्ने गरी दुई घण्टा अगाडि सार्नेछ।

क्राइमियालाई आफ्नो देशमा विलय गराउने प्रक्रिया रुसले तत्काल थाल्ने जनाइएको छ।

यसबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सँसदको दुवै सदनलाई मँगलबार सम्बोधन गर्नेछन्।