स्थानीय चुनावको मिति छिट्टै घोषणा हुने

  • 18 मार्च 2014
तस्वीर कपीराइट bbc
Image caption निर्वाचन आयोगले चुनावको दुई महिनाअघि मिति घोषणा गरिनुपर्ने माग गर्दै आए पनि घोषणा हुन सकेको छैन।

प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीको विरोधबीच सरकारले स्थानीय निर्वाचन गराउने जनाएको छ।

साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्दै सरकारले छिट्टै स्थानीय चुनावको मिति घोषणा गरिने उल्लेख गरेको छ।

एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले नयाँ संविधान जारी नहुञ्जेल स्थानीय चुनाव नगराउन संयुक्त चेतावनी दिएको पाँच दिनपछि सरकारले सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रममा निर्वाचनको मिति यथाशीघ्र घोषणा गरिने उल्लेख छ।

मिति

तर तत्काल निर्वाचनको विपक्षमा रहेका दलहरु पनि सहमतिमा आउने विश्वासले होला, निर्वाचन आयोगको आग्रहलाई थाँती राख्दै सरकारले साझा न्युनतम कार्यक्रममा चुनावको तिथि भने तोकेन।

साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेका सुचना तथा संचारमन्त्री र सरकारका प्रवक्ता मिनेन्द्र रिजालको भनाईले त्यसको थप पुष्टि गर्छ।

उनी भन्छन्, ‘’अहिले मिति तोकेर दलहरुबीच अविश्वासको वातावरण बनाएर निर्वाचन सम्भव हुँदैन।‘’

माओवादी सशस्त्र द्वन्दसँग सम्बन्धित मुद्दाहरुको छिनोफानो गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि आवश्यक कानून तर्जुमा गरि उक्त आयोग गठन गरिने सरकारले जनाएको छ।

नेपाली क्रिकेटले पछिल्लो समय हासिल गरिरहेको सफलता र क्रिकेटको विकासका लागि नगन्य सरकारी लगानीको चर्चा चलिरहेका बेला सरकारको कार्यक्रमले थोरै भए पनि खेलाडी र क्रिकेटप्रेमीहरुका लागि राहतको सन्देश प्रवाह गरेको छ।

क्रिकेट

रिजाल भन्छन्, ‘’क्रिकेट खेलले प्राप्त गरेको सफलता र नेपालको अन्तर्राष्ट्रिय साख वृद्धिमा पुर्याएको योगदानलाई कदर कर्दै क्रिकेट प्रतिष्ठान र अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने कार्य अघि बढाइनेछ।‘’

संविधानसभा निर्वाचनको चार महिनापछि सार्वजनिक गरिएको गठबन्धन सरकारको १ सय ४५ बुँदे साझा न्युनतम कार्यक्रमले बजेट झै अर्थ, राजनीति, सुशासन, विकास, सुरक्षा, शिक्षा, स्वास्थ्य र खेलकुद लगायत सबै क्षेत्रलाई समेटन खोजेको देखिन्छ।

ती सबैको कार्यान्वयन भने सहज हुने देखिदैन।