क्राइमिया ‘स्वतन्त्र र सार्वभौम’: रुस

  • 18 मार्च 2014
रुसी झण्डा तस्वीर कपीराइट Getty
Image caption पछिल्लो रुसी कदमलाई क्राइमिया रुसमा विलय हुनुअघिको अन्तरिम कदम मानिएको छ

क्राइमियालाई स्वतन्त्र र सार्वभौम राष्ट्रको मान्यता दिने प्रयास स्वरुपको पछिल्लो रुसी कदमलाई क्राइमिया रुसमा विलय हुनुअघिको अन्तरिम कदम मानिएको छ।

रुसको त्यस्तो कदम अमेरिका र युरोपेली संघले क्राइमियामाथि रुसी हस्तक्षेपसंग जोडिएका केही प्रमुख रुसी र युक्रेनी अधिकारीहरुमाथि प्रतिवन्धहरु लगाए लगत्तै आएको हो।

अमेरिकी राष्ट्रपति ओबामाले विखण्डन निम्त्याए बापत परिणामहरु भोग्नु पर्ने र थप प्रतिवन्धहरुको घोषणा हुने बताए।

ओबामाले क्राइमियाको संकटलाई अझै पनि कुटनैतिक तरिकाले समाधान गर्न सकिनेमा जोड दिए।

चेतावनी

अमेरिकी धारणाबारे ह्वाइट हाउसका प्रवक्ता जे कार्नेले भने, “यदि रुसले युक्रेनको अवस्थालाई सम्हाल्ने तौर तरिकामा परिवर्तन ल्याउँदैन भने रुसमाथि थप प्रतिवन्धहरु लाग्न सक्छन्।”

युरोपेली संघ इयुकी विदेश नीति प्रमुख क्याथरिन अश्टनलेले ती अधिकारीहरु युक्रेनको भूभागको अखण्डता र सर्वभौमिकतामाथि आघात पुर्याउनको निम्ति जिम्मेवार भएको बताइन्।

“वर्तमान प्रक्रियालाई उल्ट्याउन जरुरी छ नत्र भने त्यो नकारात्मकबाटोमा जानो सक्छ।“

अश्टनले भनिन्,“क्राइमियालाई रुसमा गाभ्न पाइदैन, त्याहाँबाट रुसी सेना फिर्ता हुनु पर्दछ।”

“समस्या समाधान गर्नको निम्ति रुसले युक्रेनसंग कुटनैतिक वार्ता थाल्नु पर्दछ।”

रुसका सहायक विदेश मन्त्री सर्गेइ र्याव्कोवले प्रतिवन्धहरु लगाउने अमेरिकी कदमहरुले उस्को एकपक्षीय र असन्तुलित रबैया प्रतिबिम्बित गरेको प्रतिक्रिया दिएका छन्।

अमेरिका र युरोपेली संघ इयुले प्रतिवन्धले निशाना बनाएकाहरुमा युक्रेनका सत्ताच्युत गरिएका राष्ट्रपति भिक्टर यानुकोभिच, क्राइमियाका उच्च अधिकारीहरु, रुसी संसदका सदस्यहरु, रुसी सैन्य अधिकारीहरु र राष्ट्रपतिका दुई जना सहयोगीहरु छन्।