क्राइमिया रुसको अभिन्न भाग : पुटिन

  • 18 मार्च 2014
पुटिन तस्वीर कपीराइट
Image caption रुसी नेताले पश्चीममाथि द्वैध स्तर कायम गरेको आरोप लगाएका छन्

क्राइमियालाई रुसमा गाभ्ने कुराको रुसी राष्ट्रपति भ्लाडिमीर पुटिनले जोडदार रुपमा बचाउ गरेका छन्।

रुसी संसदको बिशेष अधिवेशनमा बोल्दै पुटिनले भने, “मानिसहरुको मन भित्रको मनमा क्राइमिया संधै नैं रुसको एक हिस्सा रही आएको छ।”

क्राइमियाका नयाँ नेताहरुको उपस्थितिमा रुसी संसदको दुवै सदनलाई संवोधन गर्दै उनले भने, “क्राइमिया रुसको अभिन्न भाग थियो र रही रहनेछ। जनमतको परिणामले त्यसलाई स्पष्ट पारेको छ।”

उनले क्राइमिया, रुसी संघमा सामेल हुन नयाँ कानुनहरुको घोषणा पनि गरे।

पुटिनले सांसदहरुलाई सो कदमको समर्थन गर्न पनि आग्रह गरे।

रुसी राष्ट्रपतिले भने, “सन् १९५४ मा र शीत युद्धको अन्त्यमा पनि क्राइमियालाई युक्रेनी सीमा भित्र पार्नु एउटा गल्ती थियो।”

उनले रुसका लागि त्यस क्षेत्रको एतिहासिक महत्वमाथि प्रकाश पार्दै भने, “आइतबार त्यहाँ सम्पन्न जनमत अन्तर्राष्ट्रीय कानुन मुताबिक थियो।”

रुसी नेताले पश्चीममाथि द्वैध स्तर कायम गरेको आरोप लगाउँदै युक्रेनको मामिलामा चाहिने भन्दा बढी प्रतिक्रिया जनाएर गैह्र जिम्मेवार नबन्न आग्रह गरे।

प्रतिक्रिया

युक्रेनले क्राइमिया रुसी संघमा समावेश हुने कुरालाई कहिल्यै मान्यता नदिने कुरा बताएको छ।

रुसी कदमको भत्सना गर्दै अमेरिकाले त्यो भूमि हत्याउने र युक्रेनको सार्वभौमिकतामा निरन्तर हमला गर्ने कार्य भएको बताएको छ।

जर्मन चान्सलर एन्गेला मर्कलले क्राइमियाको जनमत अन्तर्राष्ट्रीय कानुनको विपरित भएको बताएकी छिन्।

युरोपिय संघ र अमेरिकाले क्राइमियाको जनमतलाई गैह्र कानुनी भन्दै प्रतिबन्धहरु लागु गरेका छन्।

रुसी बिदेश मन्त्रालयले ती प्रतिबन्धहरुको उचित जवाफ दिने कुरा बताएको छ।