बंगलादेश विरुध्द नेपालको प्रदर्शनको प्रशंसा

  • 19 मार्च 2014
नेपाली खेलाडी तस्वीर कपीराइट bbc
Image caption नेपालले अब बिहिबार दक्षिण एसियाली प्रदिद्वन्द्वी राष्ट्र अफगानिस्तानसंग खेल्दैछ

बंगलादेशको चिटगोंग शहरमा भइरहेको प्रतियोगितामा मंगलवार बेलुका नेपाली ब्याट्सम्यानहरुले अन्तर्राष्टिय क्रिकेटमा माझिएको बंगलादेशका बलरहरुको सामना गरेका थिए।

नेपालले पहिलो पल्ट टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंघ खेलिरहेकोले धेरैको चासो नेपालले कस्तो ब्याटिङ् गर्छ भन्नेमा थियो।

अफगानिस्तान जस्तो बलियो मानिएको टिमलाई ७३ रनमा नै अल आउट गरेको बंगलादेशले पहिलो ब्याटिङको निम्तो दिएपछि नेपाली ब्याट्समानहरु निकै सम्हालिएर खेलेका थिए।

एक, एक रनका लागि खेलाडीहरुले मेहेनत गरेपछि बंगलादेशको योजना अनुरुप सोचेजस्तो सजिलै नेपालको विकेट ढलिरहेको थिएन।

‘गौरव’

नेपाली टोलीले अन्तिम ओभरसम्म मेहेनत गरेको थियो, तर अन्तिम समयमा रन बटुल्न नसक्ने कमजोरी दोहोरिएको थियो।

नेपाली ब्याट्सम्यान शरद भेषावाकरले पनि ब्याट्सम्यानहरुको प्रदर्शन सन्तोषजनक रहेको बताए।

“के स्पष्ट छ भने हाम्रो टीम भावना राम्रो पक्ष हो, सीमित सुविधाकोबिचमा पनि हामीले राम्रो प्रयास गरेका छौं।”

“हामीले यहाँसम्म आएर खेलेकोमा गौरव लागेको छ।”

अनुमान गरिए झै बंगलादेशले नेपाललाई जित्न कठीन चुनौतिको समाना गर्नु परेन।

अप्रत्यासित बलिङ गर्न सिपालु नेपाली बलरहरुले पनि बंगलादेशलाई चुनौति दिन सकेनन्।

‘निरन्तरता’

नेपाली टोलीका प्रशिक्षक पुवुदु दसानायकेले खेलको अहिलेको रफ्तार र लयलाई निरन्तरता दिनु पर्ने बताए।

“समग्रमा खेलाडीहरुको प्रदर्शनबाट म खुशी छु, विशेष गरी ओपनर र शरद र पारसले राम्रो खेलेको म खुशी छु।”

“खेलाडीहरुले टेस्ट खेल्ने राष्ट्रसंग खेलिरहेको ठाने।”

चिटगोंग पुगेका हाम्रा खेल सम्बाददाता निरञ्जन राजवंशी भन्छन् “यो हार संगै नेपालको दोस्रो चरणमा पुग्ने सम्भावना अंक गणितीय हिसाबमा मात्र बाँकी छ।”

नेपालले अब बिहिबार दक्षिण एसियाली क्रिकेट प्रदिद्वन्द्वी राष्ट्र अफगानिस्तानसंग खेल्दैछ।