प्रतिबन्धहरु स्वीकार्य छैन: रुस

  • 19 मार्च 2014
रुसी  विदेशमन्त्री सेर्गेइ लाभ्रोभ
Image caption रुसी विदेशमन्त्रीले अमेरिकी विदेशमन्त्रीसंगको टेलिफोन वार्तामा प्रतिबन्धहरु अस्वीकार्य भएको बताएका छन्

रुसले क्राइमियाको विषयलाई लिएर पश्चिमी देशहरुले लगाएका प्रतिबन्धहरु आफूलाई अस्वीकार्य भएको र त्यसको राम्रो परिणाम नहुने संयुक्त राज्य अमेरिकालाई बताएको छ।

क्राइमियालाई रुसी महासंघमा मिसाउने सन्धीमा, रुसी र क्राइमियाका नेताहरुले हस्ताक्षर गरेका केहि घण्टापछि रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले आफ्ना अमेरिकी समकक्षी जन केरी संगको टेलिफोन वार्ताका क्रममा त्यस्तो चेतावनी दिएका हुन्।

भिडन्त

यसैबीच सिम्फेरोपोलस्थित एउटा सैनिक अखाडामा भिडन्त भएको छ।

युक्रेनी सेनाका अनुसार त्यस क्रममा एकजना सैनिकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

उक्त सैनिक अखाडाभित्र रहेको पार्कमा ड्युटीमा रहेका एकजना कनिष्ठ सैनिकको मारिएका हुन्, युक्रेन सरकारले भनेको छ।

सरकारका अनुसार त्यहां रहेका टुकडीको कमाण्डरलाई रुसी सैनिक पोशाक लगाएका व्यक्तिहरुले कब्जामा लिएका थिए।

रक्षा मन्त्रालयका प्रवक्ता भ्लादीस्लाभ सेलेजन्योभले भने- उक्त हमला “पूर्ण हतियारले सुसज्जीत, अनुहार छोपेका र अपरिचित सैन्यले” गरेको थियो।

उनले सैनिक अखाडामा रहेका युक्रेनीहरुको परिचयपत्र, हतियार र पैसा कब्जामा लिइएको पनि बताए।

'युद्ध अपराध'

युक्रेनका अन्तरिम प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले सरकारको एउटा आपतकालीन बैठकमा बोल्दै रुसी सैनिकहरुले युक्रेनी सैनिकहरुमाथि गोली चलाउन थालेको र त्यो युद्ध अपराध भएको बताएका छन्।

क्राइमियाको विवादले अब राजनीतिकबाट सैनिक स्वरुप लिएको छ, प्रधानमन्त्री यात्सेन्यूकको भनाई थियो।

उनले भने, “युक्रेनी सैनिकहरु घाइते भएका समाचार हामीले पाएका छौं, मैले युक्रेनका रक्षा मन्त्रीलाई, रुसी रक्षा मन्त्रीका साथै युक्रेनको भौगोलिक अखण्डताको ग्यारेन्टी गरेका अमेरीकी र संयुक्त अधिराज्यका रक्षामन्त्रीहरुसंग तत्काल सम्पर्क गर्न निर्देशन दिएको छु।“

संयुक्त राज्य अमेरिकाले क्राइमियामा रुसी हस्तक्षेपको निन्दा गर्दै त्यसलाई जबर्जस्ती अधिकरण र युक्रेनको सार्वभौमिकतामाथि जारी रहेको आक्रमण भनेको छ। अमेरिकी उपराष्ट्रपति जो बाइडनले पोल्याण्डको राजधानी वार्सअमा बोल्दै, क्राइमियाको घटनाक्रमले, उत्तर एटलान्टीक सन्धी संगठन, नेटो एकताबद्ध हुनु पर्ने आवश्यकतालाई स्मरण गराएको बताएका छन्।

उनले, अमेरिकाले रुस विरुद्ध थप प्रतिबन्धहरु लगाउने बताएका छन्। युरोपेली संघले पनि एउटा बक्तव्य जारी गर्दै क्राइमियामा भएको जनमत संग्रह र त्यसको परिणाम दुवै गैरकानूनी भएको र त्यसलाई आफूले मान्यता नदिने बताएको छ।