खेलाडीलाई उचित सम्मान: सरकार

  • 21 मार्च 2014
नेपाल ब्याटिङ् गर्दै तस्वीर कपीराइट bbc
Image caption तीनवटा खेलमा नेपालले गरेको प्रदर्शनलाई ‌ऐतिहासिक भन्दै चौतर्फि प्रशंसा भइरहेको छ

बंगलादेशमा जारी टी-२० विश्वकप क्रिकेटमा सहभागी नेपाली टोलीलाई प्रोत्साहित गर्न सरकारले आर्थिक लगायतको पुरस्कार घोषणा गर्ने युवा तथा खेलकुद मन्त्रीले बताएका छन्।

मन्त्रिपरिषदको सामाजिक समितिको बैठकले उक्त निर्णय गर्ने उनले बीबीसीलाई बताए।

नेपालले क्रिकेट खेलमा इतिहास बनाएको छ र त्यसलाई सम्मान गर्न सरकारले नेपाली क्रिकेट टोलीलाई आर्थिक लगायतको पुरस्कार घोषणा गर्न लागेको हो।

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले भने, "त्यसबारे शुक्रवार नै घोषणा गर्ने तयारीमा छौं, त्यसमा आर्थिक सहयोग र खेलाडीलाई उत्साहित गर्ने, प्रोत्साहित गर्ने र सम्मानित गर्ने लगायतका कुराहरु हुन सक्छन्।"

सफलता

बंगलादेशमा भइरहेको टी-२० विश्वकप क्रिकेटमा तीन मध्ये दुईवटा खेलमा नेपालले विजय भएको थियो।

हङकङमाथि सहज विजय हासिल गरेको नेपालले शसक्त मानिएको अफगानिस्तानलाई तीव्र प्रतिस्पर्धाकाबीच नौ रनले पराजित गरेको थियो।

बंगलादेशसँगको खेलमा भने नेपालले पराजय भोग्नु पर्यो।

यद्यपी नेपालको खेललाई ठुलो सफलताको रुपमा हेरिएको छ।

उचित सरकारी लगानीका अभावका माझ पनि खेलकुदमा नेपालले प्रगति गर्दै जान थालेको भनि धेरैले सरकारको आलोचना गर्ने गर्छन्।

खेलाडी संरक्षण

त्यसैले सरकारले अन्तराष्ट्रिय खेल खेल्ने सबै खेलाडीलाई संरक्षण गर्न विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ।

मन्त्री पौडेलले भने, "म खेलेरै बाँच्न सक्छु र राष्ट्रको सेवा गर्न सक्छु भन्ने विश्वास दिलाउन राष्ट्रिय खेलाडी संरक्षण कार्यक्रम ल्याउँदैछौं।"

बंगलादेशमा भइरहेको विश्वकप क्रिकेट प्रतियोगिताकै माझ सरकारले यसै हप्ता सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रममा नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेको थियो।

यस पटक नेपाली टोलीले हासिल गरेको आम प्रशंसाकाबीच सरकारलाई आफ्नो प्रतिवद्धता पुरा गर्न ठुलो दवाव पर्ने देखिन्छ।