कालो सूचिबाट हटाउन कार्य योजना ल्याइँदै

  • 22 मार्च 2014
पर्यटक
Image caption नेपाली विमान सेवालाई इयुले सूचिमा राखेपछि नेपाल आउने पर्यटकको संख्या घटेको बताइएको छ

झण्डै चार महिनादेखि युरोपेली संघ (इयु) को कालो सूची भनिने हवाई सतर्कता सूचीमा रहेको नेपाललाई त्यसबाट हटाउने प्रयास स्वरुप आउने हप्ता कार्य योजना सार्वजनिक गरीने सरकारले जनाएको छ।

गत मंसिरमा इयुले नेपालको हवाई यात्रा असुरक्षित रहेको भन्दै नेपाली विमान सेवाहरुलाई सतर्कता सूचीमा राखेको थियो।

जानकारहरुका अनुसार सूचीमा परेपछि नेपाल आउने पर्यटकहरु घटेका छन्।

प्रतिवेदन

इयुले मंसिरमा नेपाललाई हवाई सुरक्षा सतर्कता सूचीमा राखेपछि माघमा टोली पठाएर नेपालको हवाई सुरक्षाबारे अध्ययन गरेको थियो।

अध्ययनपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा सहित छवटा वायुसेवा कम्पनीलाई छुट्टा-छुट्टै प्रतिवेदन दिइएको थियो।

उक्त प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यका अनुसार प्रतिवेदनमा सूचीबाट नहटेको जानकारी सहित सुधार्नु पर्ने विषय समेटिएकोले सुधारको कार्य योजना यसै हप्ता सार्वजनिक गरीने छ।

इयुको हवाई मापदण्ड पुरा गर्न कार्य योजनामा समेटिने विषयहरु बारे मन्त्री आचार्यले भने, “जनशक्ति दक्ष छैनन्, जहाज राम्ररी उडेको छ कि छैनन भन्ने जाँच चित्त बुझ्दो भएन, शौचालय र सरसफाई पर्याप्त भएन र निगरानी प्रणाली राम्रो भएन भन्ने छ, त्यो हामीले सच्याउनु पर्छ।”

घट्दै पर्यटक

हवाई सुरक्षा सतर्कता सूचीमा परेपछि पर्यटन क्षेत्रमा असरहरु देखिन थालेका छन्।

नेपाल आउने पर्यटकहरु घटेको वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको भनाई छ।

उनी भन्छन्, “इयुले सर्तकता सूचिमा राखेपछि अपेक्षा गरे अनुसार पर्यटक नआउनु स्वभाविककै हो, पर्यटक संख्या घट्नको कारण त्यो पनि हो।”

उक्त सूचीमा परेको कारण नेपाली विमानहरु युरोपियन युनियनमा प्रतिनिधित्व गर्ने देशहरुमा प्रतिवन्धित छन्।

यसैबीच भर्खरै सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रममा आगामी ६ महिनाभित्र सुरक्षित हवाई उडान सुनिश्चित गरीने उल्लेख छ।