विदेशी लगानी भित्र्याउन व्यवसायी सम्मेलन

  • 23 मार्च 2014
मोहम्मद महाथिर तस्वीर कपीराइट AFP
Image caption आधुनिक मलेसियाका निर्माता मानिने पूर्वप्रधानमन्त्री महाथिर सम्मेलनमा मुख्य वक्ता छन्

नेपाल र विदेशका व्यवसायीहरुको आइतवारदेखि काठमाण्डूमा शुरु हुन लागेको सम्मेलनमा आधा दर्जन परियोजना निर्माणका लागि उनीहरुबीच सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले सुचीकृत गरेका दर्जनौं परियोजनाहरुमा वैदेशिक लगानी जुटाउने मुख्य उद्देश्यसहित उक्त सम्मेलन आयोजना गरेको हो।

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर बिन मोहम्मद मुख्य वक्ता रहेको उक्त सम्मेलनमा चीन, बेलायत, क्यानाडा र मलेसिया लगायत मुलुकका व्यवसायीहरुको सहभागिता रहने महासंघले जनाएको छ।

अनुभव

महासंघले नेपालमा वैदेशिक लगानी भित्र्याउन र निजी लगानी प्रवर्द्धनका लागि आवश्यक नीतिबारे छलफल गर्न झण्डै एक महिनाअघि नेपाल आर्थिक सम्मेलन गरेको थियो।

सम्मेलनमा मलेसियाका पूर्वप्रधानमन्त्री मोहम्मदले विकासका अनुभव नेपाली व्यवसायीहरुलाई सुनाउने आयोजकले बताएका छन्।

सम्मेलनका सहभागीबारे महासंघका महानिर्देशक हेमन्त दवाडी भन्छन्, “चीनको युनान प्रान्तका गभर्नर सहित ३५ जना, मलेसियाका ३० जनाजति व्यवसायीक प्रतिनिधिहरु सहित युके, क्यानाडा, फ्रान्स र भारतका प्रतिनिधिहरु सम्मेलनमा सहभागि हुनेछन्।”

नेपाली र विदेशी व्यवसायीहरुको संयुक्त लगानीमा निर्माण हुने परियोजनाहरुको सूचि उद्योग वाणिज्य महासंघले तयार पारिसकेको छ।

रोजगारी

पर्यटन, जलविद्युत तथा कृषि लगायत क्षेत्रसँग सम्बन्धित परियोजनाहरुबारे सम्मेलनमा विस्तृत छलफल गरि लगानी जुटाइने महासंघले जनाएको छ।

दवाडीले भने, “लगानी गर्न तयार भएका जनविद्युत, निर्माण, उत्पादन सहितका ५२ वटा परियोजनाहरुको रुपरेखा तयार गरेका छौं।”

उद्योग वाणिज्य महासंघले सुचीकृत गरेका सबै परियोजनामा लगानी जुटे नेपालमै लाखौं युवाका लागि रोजगारी श्रृजना हुने व्यवसायीहरु बताउँछन्।