क्राइमियाको युक्रेनी सैन्य अखाडामा रुसी कब्जा

रुसी सैन्यले क्राइमियामा रहेको एउटा युक्रेनी हवाइ सैनिक अखाडामा जबर्जस्ती प्रवेश गरी त्यसलाई आफ्नो नियन्त्रणमा लिएको छ।
क्राइमियास्थित उक्त बेलबेक हवाइ अखाडा कब्जा गर्न रुसी सैनिकहरुले बख्तरबन्द सवारी साधनका साथै 'स्टन ग्रीनेड' प्रहार गरेका थिए र स्वचालित हतियारले हावामा गोली चलाएका थिए।
उक्त घटनामा कम्तीमा एकजना युक्रेनी सैनिक घाइते भएका बताइएको छ।
नियन्त्रण
त्यहां रहेका बीबीसीका सम्बाददाता भन्छन्, रुसी सैनिकहरुले त्यहां रहेका युक्रेनी सैनिकहरुलाई एउटा क्षेत्रमा सिमित पारेर उक्त अखाडालाई नियन्त्रणमा लिएका थिए।
त्यसरी सो अखाडामा प्रवेश गर्नुअघि रुसी सैनिकहरुले युक्रेनीहरुलाई आत्म समर्पण गर्न चेतावनी दिएका थिए।
अब त्यहां प्राविधिक रुपमा मात्र कियभको नियन्त्रण रहेको थोरै सैनिक अखाडाहरु मात्र बांकी छन्।
त्यहां स्थित युक्रेनी सैनिकहरु आफूलाइ आफ्ना कमाण्डरहरुले बेवास्ता गर्दै त्यतिकै छाडेका अनुभव गर्दैछन्।
निर्णय
यो मामिलालाई स्थानीय रुपमा सल्टाउने प्रयास भैरहेको भएतापनि रुसीहरुले स्पष्ट रुपमा क्राइमियामा रहेका सैनिक अखाडाहरु आफ्नो मातहतमा ल्याउने निर्णय गरेका जस्तो देखिन्छ।
उता युक्रेनको राजधानी कियभ भ्रमणका क्रममा बोल्दै क्यानाडाका प्रधानमन्त्री स्टीभन हार्परले रुसले क्राइमियालाई आफूमा विलय गराएर विश्वव्यापी सुरक्षास्थितीमा क्षति पुर्याएको आरोप लगाएका छन्।
उनले भने, युक्रेनको भौगोलिक अखण्डताको उलंघन गरेर रुसी राष्ट्रपति पुटिनले अन्य राज्यहरुलाई आआफ्नो हतियार भण्डार बलियो बनाउन प्रेरित गरेका छन्।
त्यसअघि जर्मन विदेशमन्त्रीले रुसलाई युरोपलाई विभाजीत गर्न खोजेको आरोप लगाएका थिए।