'रु. साढे दुई अर्बको परियोजनामा सहमति'

  • 24 मार्च 2014
तस्वीर कपीराइट FNCCI
Image caption निजी व्यवसायीहरुले लगानी सम्मेलनले वैदेशिक लगानीको आधार तयार पारेको बताएका छन

साढे दुई अर्ब रुपैयाँ बराबरका परियोजना निर्माणका लागि नेपाली र विदेशी लगानीकर्ताहरुबीच प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गर्दै काठमाडौंमा लगानीसम्बन्धी सम्मेलन सोमबार सकिएको छ।

दुई दिने उक्त सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई औपचारिक आग्रह गरेको थियो।

विदेशी व्यवसायीहरु समक्ष प्रस्तुत गरिएका ५३ वटा परियोजनाहरुमध्ये विभिन्न ४ वटा परियोजनामा नेपाली र विदेशी व्यवसायीबीच प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको महासंघका महानिर्देशक हेमन्त दवाडीले बताए।

हस्ताक्षर

सहमतिपत्रमा हस्ताक्षर भएको परियोजनाको प्रकृतिबारे दवाडीले भने, ‘’पूर्वाधार निर्माण, प्रयोगशाला र शैक्षिक संस्था स्थापना लगायतका परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ।‘’

त्यसैगरी नेपालमा वितत्तीय केन्द्र स्थापनाका लागि चिनियाँ व्यवसायीसँग पनि आशयपत्रमा हस्ताक्षर भएको दवाडीले बताए।

महासंघले प्रस्तुत गरेको परियोजनाहरुको विवरणमा कृषि र जलविद्युतसँग सम्बन्धित १०-१० वटा, पर्यटन क्षेत्रसँग सम्बन्धित ८ र पूर्वाधारसँग सम्बन्धित १२ वटा छन्।

परियोजना

त्यस्तै उत्पादनसम्बन्धी ५, सेवा क्षेत्रसँग सम्बन्धित ७ र खानीसम्बन्धी एउटा परियोजनाको विवरण महासंघले विदेशी लगानीकर्ताहरुसमक्ष पेश गरेको थियो।

महासंघले विवरण तयार पारेका परियोजनाहरु विभिन्न चरणमा रहेको बताइएको छ।

दवाडीले भने, ‘’कतिपय परियोजनाका लागि सरकारको स्वीकृति पाएर निर्माणका लागि सहमति समेत भइसकेको छ भने कतिपयका लागि स्वीकृति लिन खासै कठिनाई हुने छैन।‘’

सरकारले लगानी प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार ल्याउन तयार रहेको जनाएको छ।

व्यवसायीहरुले सम्मेलनको प्रतिफल केही समयपछि देखिने थाल्ने प्रतिक्रिया दिएका छन्।