इजिप्टमा ५२८ जनालाई मृत्यूदण्डको सजाय

  • 24 मार्च 2014
तस्वीर कपीराइट AFP
Image caption इजिप्टमा मृत्यूदण्ड बरोबर सुनाइने भए पनि त्यसको कार्यान्यवन फितलो हुने गरेको छ

इजिप्टको एक अदालतले गत वर्ष सत्ताच्यूत गरिएका राष्ट्रपति मोहम्मद मोर्सीको दल मुस्लिम ब्रदरहुडका पाँच सय भन्दा धेरै समर्थकहरुलाई मृत्युदण्डको फैसला सुनाएको छ।

तिनीहरुमाथि एकजना प्रहरीको हत्या तथा धनजनमा क्षति पुर्याएको जस्ता अभियोग लागेका छन्।

ब्रदरहुडका वरिष्ठ नेतासहित मोर्सी समर्थक १२०० जनामाथि मुद्दा चलिरहेको छ। मृत्युदण्ड सुनाइएकाहरु तिनै मध्येका हुन्।

गत वर्षको जुलाई महिनामा मोर्सीलाई सेनाद्वारा अपदस्थ गरिएपश्चात इजिप्ट सरकारले इस्लामवादीहरुमाथि कडा नीति लिएको छ।

सयौँ मारिएका छन् भने हजारौँ पक्राउ परेका छन्।

पुनरावेदन

सोमबार सजाय सुनाइएकाहरुले पुनरावेदन गर्ने ठानिएको छ।

राजधानी कायरोको दक्षिणमा अवस्थित मिन्याको अदालतले दुई सत्रको सुनुवाई पछि यो फैसला सुनाएको हो।

समाचार संस्था एशोशिएटेड प्रेसका अनुसार मुद्दाको दौरान प्रतिवादी पक्षका वकिलहरुले आफुहरुलाई आफ्नो दलील पेश गर्ने मौका नदिइएको गुनासो गरेका थिए।

हाल लन्डनमा रहेका मुस्लिम ब्रदरहुडका एक प्रवक्ता अब्दुल्लाह एल हेदादले यो फैसलाले इजिप्टमा अब निरंकुश शासन रहेको प्रष्ट पारेको बताए।

उनले भने, “३७ जना ब्रदरहुड समर्थकलाई मार्ने प्रहरीलाई चाहीँ जम्मा १० वर्षको जेल सजाय अनि कु को विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हाम्रा समर्थकहरुलाई चाहीँ मृत्युदण्ड दिने इजिप्टको न्यायालयको फैसला स्तब्ध पार्ने खालको छ।”

अभियानकर्मीहरुका अनुसार इजिप्टमा मृत्युदण्डको सजाय बरोबर सुनाइन्छ।

तर पछिल्ला वर्षहरुमा तिनको कार्यान्वयन निकै थोरैमात्रै हुने गरेका छन्।