चिनियाँ यात्रुका आफन्तद्वारा आक्रोश व्यक्त

  • 25 मार्च 2014
Image caption पछिल्लो विवरणबाट खोजी कार्यलाइ सिमित घेरामा ल्याइएको मलेसिया सरकारले बताएको छ

दुइ साताभन्दा लामो समयदेखि वेपत्ता भएको मलेसियन एयरलाइन्समा परेका यात्रुका आफन्तहरुले विमानबारे थप जानकारी नदिएको भन्दै चीनको बेइजिंगस्थित मलेसियन दूतावास अगाडि प्रदर्शन गरेका छन्।

भूउपग्रहबाट प्राप्त विवरणको विश्लेषणका आधारमा मलेसियाका प्रधानमन्त्री नजिब रजकले हराएको विमान दक्षिणी हिन्द महासागरमा खसेको सोमबार बताएपछि मंगलबार उनीहरुले प्रदर्शन गरेका हुन्।

चीनका राष्ट्रपति सि जिनपिङले विमानको भग्नावशेषबारे खोजी गर्न र त्यसबारे मलेसियासँग सम्पर्कमा रहिरहन क्वालालम्पूरमा आफ्ना विशेष दूत पठाएका छन्।

मलेसियाले जुन विवरणको आधारमा विमान दक्षिणी हिन्द महासागरमा खसेको निर्णय सुनाएको थियो त्यो विवरण आफुलाई उपलब्ध गराउन चीनले आग्रह गरेको छ।

विमानको भग्नावशेषको खोजी कार्य भने खराब मौसमका कारण हाल रोकिएको मलेसियाले बताएको छ।

प्रदर्शन

बहुराष्ट्रिय टोलीले खोजी कार्यलाई अस्ट्रेलियाको पर्थ शहरबाट १५ सय माईल टाढा दक्षिण पश्चिम क्षेत्रमा केन्द्रित गरेको छ।

मार्च ८ मा २ सय ३९ यात्रु लिएर क्वालालम्पुरबाट बेइजिंगतर्फ उडेको उक्त विमानमा १ सय ५३ यात्रुहरु चीनका थिए।

ती यात्रुहरुका कयौं आफन्तले मलेसियाली सरकारले विमानको खोजीमा ढिलाई गरेर सत्यता लुकाउन खोजेको भन्दै मंगलबार विज्ञप्ति निकालेका छन्।

बेइजिंगस्थित होटलमा बस्दै आएका उनीहरुले विरोध जनाउन ब्यानर लिएर मलेसियन दुतावासमा घेराउ गर्दै आफन्तहरुसँग सत्यता नलुकाउन भनेका थिए।

प्रहरीले आफन्तहरु चढेको गाडीलाई दूताबास जानबाट रोकेपछि उनीहरु पैदलै हिँडेर दूताबास अगाडी पुगेका थिए।

बिरोध

प्रदर्शनकारीहरुले पानीको बोतलहरु दुताबासमा फ्याँकेर बिरोध जनाउँदै राजदूतसँग भेट्न माग गरेका थिए।

प्रहरीहरुको बाक्लो उपस्थिति भएको उक्त ठाउँमा केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको एपी समाचार संस्थाले जनाएको छ।

सोमबार मलेसियाका प्रधानमन्त्रीले गहिरो दुख र पश्चातापसहित हराइरहेको विमानको अन्त दक्षिणी हिन्द महासागरमा भएको बताएपछि मंगलबार बेइजिङमा यात्रुका आफन्तले यस्तो प्रदर्शन सुरु गरेका हुन्।

मलेसियाले खराब मौसमका कारण खोजी कार्यलाई निरन्तरता दिन नसकेको बताइरहेको बेला चीनले भने खोजी र उद्दार कार्य अहिले रोक्न नहुने भन्दै निरन्तरताको लागि माग गरेको छ।