'बेपत्ता विमानको जस्ता टुक्रा देखियो'

  • 26 मार्च 2014
तस्वीर कपीराइट
Image caption विभिन्न २६ देशको सहभागितामा हराइरहेको विमानको खोजि भए पनि विमानको भग्नावशेष फेला परेको छैन

बेपत्ता मलेसियाली विमानको सम्भावित भग्नावशेष जस्ता लाग्ने १ सय २० भन्दा बढी टुक्राहरु भूउपग्रहबाट प्राप्त नयाँ तस्बीरले देखाएको मलेसियाले जनाएको छ।

मलेसियाका कार्यवाहक यातायात मन्त्री हिसामुद्दिन हुसेनले भूउपग्रहले मार्च २३ तारिखमा खिचेको तस्बीरले ती सम्भावित टुक्रा देखिएको बताएका हुन्।

फ्रान्सले उपलब्ध गराएको उक्त तस्बीरले भेटिएका ती टुक्राहरु मध्ये केही ७५ फिट भन्दा लामो भएको देखाएको छ।

एयरबस कम्पनीले पहिचान गरेका ती टुक्राहरु चम्किला देखिएको र सम्भवत: ठोस पदार्थबाट बनेको हुन सक्ने बताइएको छ।

अन्यौल

पश्चिम अस्ट्रेलियाको पर्थ शहरबाट करीब १६०० माइल परको झण्डै ४ सय वर्गकिलोमिटरको क्षेत्रमा उक्त टुक्राहरु देखिएको हुसेनले बताएका छन्।

ती टुक्रा हराइरहेको विमानकै हो भन्ने पुष्टि भइसकेको छैन तर त्यसले खोजी कार्यलाई प्रत्यक्ष रुपमा सघाउन मद्दत गरेको उनले बताए।

ती तस्बीर मंगलबार अस्ट्रेलियाको पर्थ शहरको उद्धार तथा समन्वय केन्द्रलाई पठाइएको थियो।

Image caption विमानका यात्रुका आफन्तले भने मलेसियाले सूचना बरोबर नदिएको भन्दै विरोध जनाएका छन्

दक्षिणी हिन्द महासागरमा देखिएको सम्भाव्य भग्नावशेषको उक्त तस्बीर भूउपग्रहबाट निकालिएको यो चौथो संकलन हो।

पूर्व र पश्चिम क्षेत्रमा विस्तार गरिएको खोजीको क्षेत्रबाट अहिलेसम्म कुनै सामग्री निकालिएको छैन।

स्थगित

खोजीको समन्वय गरिरहेको अस्ट्रेलियाली समुद्री सुरक्षा निकायले अघिल्लो दिन भारी वर्षा र समुद्री आँधीको कारण खोजी कार्यलाई स्थगित गरिएको बताएको छ।

सातवटा सैनिक सहित १२ वटा विमान खोजी कार्यमा जुटेका थिए भने त्यसमा अमेरिका, जापान, चीन, अस्ट्रेलिया, न्यूजिल्यान्ड र दक्षिण कोरिया जस्ता छ वटा देशको सहभागिता छ।

चीनको खोजी टोलीका कमान्डर डङ्ग यानले पानी जहाजबाट भग्नावशेष खोजी गरिरहेको बताएका छन्।

उनले चिनियाँ टिभीलाई खोजी मुख्य गरी तैरिरहेका सामाग्री, तरल पदार्थ, पानीमा खसेका मानिस र विमानको बाहिरी भाग खोज्नमा केन्द्रीत रहेको बताएका छन्।

विमानको खोजी कार्य विश्वको सबैभन्दा विकट क्षेत्रमा भइरहेको छ।

यदि देखिएका टुक्राहरु विमानकै भएको यकीन भए खोजी कार्यलाई सीमित क्षेत्रमा केन्द्रीत गर्ने बताइएको छ।