ओबामाद्वारा रुसमाथि थप प्रतिबन्धको चेतावनी

  • 26 मार्च 2014
तस्वीर कपीराइट
Image caption रुसले क्राइमिया आफूमा गाभेपछि अमेरिका र उसका युरोपेली साझेदार मस्कोसँग क्रुद्ध छन्

अमेरीकी राष्ट्रपति ओबामाले आफू बलियो भएर नभइ कमजोर भएपछि क्षेत्रिय शक्तिका रुपमा मस्कोले युक्रेनमा हस्तक्षेप गरेको आरोप लगाएका छन्।

औौद्यौगिक राष्ट्रहरुको समुह जी सेवेनको बैठकको अन्त्यमा हेगमा बोल्दै उनले युक्रेनमाथि अतिक्रमण नरोके रुसमाथी थप प्रतिबन्ध लगाउने चेतावनी दिए।

अमेरिका र उसका युरोपेली साझेदारहरुले आफूले क्षति नै बेहोर्नु पर्ने भए पनि सम्रग रुपमा रुसी अर्थतन्त्रमा धक्का लाग्ने कदमहरु चाल्ने उनको भनाई छ।

चेतावनी

रुसले क्राइमिया आफूमा गाभेपछि अमेरिकाले कतिपय रुसी अधिकारीलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध लगाइसकेको छ।

अन्तराष्ट्रीय समुदायले रुसी कदमलाई मान्यता नदिएपनि क्राइमिया अहिले रुसी शैनिकको नियन्त्रणमा रहेको ओबामाले स्विकार गरे।

“युक्रेनमा अतिक्रमणहरु रोकिए भने परिणामहरु राम्रा हुनेछन्, तर त्यसो गर्न विफल भइयो भने ठूलो मूल्य चुकाउनु पर्नेछ, त्यसले विश्व अर्थतन्त्रमा समेत प्रभाव पार्ला तर सबै भन्दा बढि असर रुसलाई नै गर्नेछ,” उनले भने।

युक्रेनलाई राजनीतिक र आर्थीक रुपमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई ओबामाले आग्रह पनि गरेका छन्।

सोमबार जी सेवेनमा रहेका देशहरुले विज्ञप्ती जारी गर्दै क्राइमियामा भएको रुसी हस्तक्षेपको भत्सर्ना गर्दै उसलाई यसअघिको जि एटबाट हटाउने निर्णय लिइएको जनाएका थिए।

चिन्ता

कडा प्रतिबन्धहरुको चेतावनीले रुसको अर्थतन्त्र र त्यहाँ भैरहेको विदेशी लगानीमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै चिन्ता व्यक्त हुन थालेको छ।

कतिपयले मस्कोले स्थिर बजार भन्दा पनि क्षेत्रिय शक्ति सन्तुलन र राष्ट्रवादी राजनीतिमा जोड दिएको टिप्पणी गरेका छन्।

यसैबिच युक्रेनबाट प्राप्त समाचारहरुका अनुसार क्राइमियामा बाँकी रहेको एक मात्र युक्रेनी युद्धपोतमाथि रुसी शैनिकहरुले कब्जा गरेका छन्।

युक्रेनी रक्षा शैन्यका प्रवक्ताले स्थानिय टेलिभिजनलाई भने रुसी झन्डा अंकित एउटा वहानले सुरुङ हटाउन प्रयोग गरिने सो युद्धपोतलाई तानेर लगेको बताएका हुन्।

यसअघि सेभास्तोपोलमा रहेका युक्रेनको नौसैनिक जाहाजहरुलाई रुस समर्थक शसस्त्र फौजहरुले अघिल्लो हप्ता कब्जा जमाएका थिए।