नेपाल ‘पोलियोमुक्त देश’ घोषणा हुँदै

  • 27 मार्च 2014
पोलियो थोपा तस्वीर कपीराइट Reuters
Image caption दक्षिण एसियाको पाकिस्तान र अफगानिस्तामा चाँही पोलियो उन्मुलन भएको छैन

भारतको राजधानी दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी क्षत्रीय कार्यालयमा हुने विशेष समारोहमा नेपाललाई पोलियोमुक्त घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ।

पोलियोमुक्त देशको प्रमाणपत्र पाउनु देशका लागि ठूलो उपलब्धी भएको स्वास्थ्य सचिवले बताएका छन्।

विश्व स्वास्थ्य संगठनले सन् १९८८ मा पोलियो रोगलाइ विश्वबाट उन्मुलन गर्ने घोषणा गरेपछि नेपालमा पनि पोलियो थोपा खुवाउने अभियान सुरु गरिएको थियो।

पोलियो थोपा

त्यसपछि नेपाल सरकारले पोलियोलाई निर्मुल पार्न विगत १७ वर्षदेखि ७५ जिल्लामा वर्षको दुइ पटक पोलियो थोपा खुवाउन थालेको थियो।

सरकारले शुरु गरेको अभियान १७ वर्षपुग्दा नेपाल पोलियो मुक्त देश घोषणा हुन लागेको हो।

यो घोषणालाई ठूलो उपलब्धि मानेका छन् स्वास्थ्य सचिव डाक्टर प्रवीण मिश्रले।

“दिल्लीमा हुने कार्यक्रममा कयौ देशलाई पोलियोमुक्त घोषणा गरिदैछ, त्यसमा नेपाल पनि परेको छ - यो नेपालको लागि ठूलो उपलब्धी हो र गौरवको कुरा हो।”

प्रतिक्षा

नेपालमा सन् २०१० देखि नै पोलियोका विरामी नदेखिए पनि क्षेत्रिय रुपमा एकै पटक घोषणा गर्ने विश्व स्वास्थ्य संगठनको प्रावधानले नेपालले एक वर्षका लागि भारतलाई कुर्नुपरेको थियो।

उक्त प्रमाणपत्र लिन नेपालबाट प्रतिनिधिको रुपमा स्वास्थ्यमन्त्री खगराज अधिकारी दिल्ली जाँदै छन्।

पोलियोमुक्त देश घोषणा गर्नको लागि नेपालले लामो संघर्ष गर्नुपरेको मिश्रको भनाइ छ।

पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेक विश्वभरका सबै मुलुक पोलियोमुक्त भइसकेका छन्।