अफगान निर्वाचन आयोगमा हमला

  • 29 मार्च 2014
हमला तस्वीर कपीराइट Reuters
Image caption तालिबानले शुक्रबार काबुलस्थित एउटा अतिथि गृहमा हमला गरेका थिए

अफगानिस्तानमा राष्ट्रपतीय चुनाव हुनु एकसाता अघि तालिबान विद्रोहीहरुले राजधानी काबुलमा रहेको निर्वाचन आयोगको कार्यालयमा हमला गरेका छन्।

भारी हातहतियारले लैस उग्रवादीहरु एउटा नजीकैको घरमा प्रवेश गरी विष्फोटहरु गराएका थिए।

काबुलका प्रहरी प्रमुख जनरल मोहम्मद जाहिरले भने, "आतँककारीहरुको एक समूह स्वतन्त्र निर्वाचन आयोग भन्दा आठसय मिटर टाढा रहेको एउटा भवनमा प्रवेश गरे। प्रहरीको काबुल सँकट उद्धार इकाईले कारवाहीको नेतृत्व गरिरहेको छ र छिटै हामीले स्थितिमाथि नियन्त्रण कायम गर्नेछौं।"

घटनास्थल पुगेका बीबीसीका एकजना संवाददाताले गोली हानाहान चलिरहेको बताए।

प्रहरीले सबै पाँचजना हमलाकारीहरु मारिएको र उनीहरुले निर्वाचन आयोगमा हमला गर्न प्रयोग गरेको घर माथि नियन्त्रण कायम गरिएको जनाएका छन्।

हमला

एकजना तालिबान प्रवक्ताले सो हमला आफुहरुले गराएको जनाएका छन्।

तीन तले घरबाट उग्रवादीहरुले कडा सुरक्षा व्यवस्था भएको निर्वाचन आयोगमाथि हमला गरेका थिए।

आयोग परिसरभित्र गोदामहरुमा आगो लागेकेा बताइएको छ।

उग्रवादीहरु प्रवेश गरेको घरका घरधनी हाजी मोहेबुल्लाहले हमलाकारीहरु बुर्का लगाएर उनको घरभित्र पसेको जनाए।

निर्वाचन आयोगका प्रवक्ताले आयोग परिसरभित्र दुईवटा विष्फोटनको आवाज सुनिएको तर कर्मचारीहरु सुरक्षित रहेको बताए।

चेतावनी

तालिबानले आउँदो अप्रिल ५ तारिखमा हुन गैरहेको राष्ट्रपतीय चुनाव बिथोल्न हिंसा्त्मक अभियान चलाउने चेतावनी दिएको थियो।

उसले चुनाव आयोगका कर्मचारीहरु, मतदाता तथा सुरक्षा दलहरुलाई पनि निशाना बनाइने जनाएको थियो।

शुक्रबार तालिबान उग्रवादीहरुले काबुलस्थित एउटा अमेरिकी कल्याणकारी संस्थाको अतिथि गृहमा हमला गरेका थिए।

अतिथि गृहमा रहेका विदेशीहरु उम्कन सफल भएपनि नजीकै सडकमा एकजना बालिकाको गोली लागेर ज्यान गएको थियो।

गतसाता काबुलकै एक होटलमा तालिबान लडाकुहरुले गरेको हमलामा चारजना विदेशी सहित नौ जनाको ज्यान गएको थियो।